`

प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

Nepal One HD ९ पुष २०८२ १७:५२
प्रमुख खबर

काठमाडौँ, ९ पुस:प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेको हो ।टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना गरेको छ । प्रधानमन्त्री कार्की प्रतिष्ठानको पदेन संरक्षक पनि हुनुहुन्छ ।

त्यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । देशभरको गीत, सङ्गीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो पनि उहाँले गर्नुभयो ।

प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उहाँले जानकारी गराउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो ।प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरुसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *