`

‘विकास–निर्माणका कामलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्छ’ – मुख्यमन्त्री बानियाँ

Nepal One HD ९ पुष २०८२ २१:३८
राजनीति

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा चित्लाङ हिल स्टेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले विकास निर्माणमा दलीय भावनाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनमा एजेण्डा फरक भए पनि निर्वाचनपश्चात् विकास निर्माणमा फरक विचार हुन नहुने जिकिर गर्दै मुख्यमन्त्री बानियाँले विकासमा विग्रह नभई सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।

मकवानपुरको दामन, पालुङ, चित्लाङलगायत क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको ‘कनेक्टिभिटी’ले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले गरेको विकास र निर्माण गरेको संरचनालाई जोगाउने र चलाउने काम स्थानीय तहले लिनुपर्ने उल्लेख गर्दै उहाँले थाहा नगरपालिकामा बनेको संरचनालाई सफल रूपमा सञ्चालन गर्न सकिए सङ्घीयता बलियो हुने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *