जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटारमा ओली
काठमाण्डाैँ । जेनजी आन्दोलनका कारण सत्ता गुमाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । सत्ता गुमाएपछि ओलीको बालुवाटार आगमनलाई समसामयिक राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । यसअघि आन्दोलन चर्किएको समयमा सुरक्षाका कारण तत्कालीन प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए । त्यसयता बालुवाटार नआएका ओलीको आजको उपस्थितिलाई विशेष अर्थका साथ विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको तीन शीर्ष नेताबीचको छलफलमा सहभागी हुन ओली बालुवाटार पुगेका हुन् । उक्त छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र त्यससँग सम्बन्धित राजनीतिक सहमति रहेको बताइएको छ ।
हाल सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न उच्चस्तरीय राजनीतिक छलफललाई तीव्र बनाउँदै लगेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले प्रमुख दलहरूबीच सहमति जुटाउने प्रयासलाई प्राथमिकता दिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको सक्रिय पहलमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेकी थिइन् । उक्त भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, निर्वाचनको वातावरण र दलहरूबीचको आपसी अविश्वासका विषयमा छलफल भएको थियो ।
शीतलनिवासको छलफलपछि पनि सरकारको सक्रियता निरन्तर देखिएको छ । त्यसको केही दिनपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेल प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भेट्न उनीहरूकै निवासमा पुगेका थिए । यस भेटलाई सरकार र प्रमुख दलबीच संवादको सेतुका रूपमा लिइएको थियो ।
त्यसकै भोलिपल्ट आज प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा प्रत्यक्ष छलफल गरिरहेकी छन् । यस छलफलबाट निर्वाचनको मिति, प्रक्रियागत सहमति र राजनीतिक स्थायित्वका विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । राजनीतिक दलहरूबीच सहमति नजुटेमा निर्वाचन प्रभावित हुने चिन्ता बढिरहेका बेला यस्ता उच्चस्तरीय संवादलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
