नलडेको चुनाव, जितेको सांसद : रास्वपाको प्रदेशमा ‘सरप्राइज’
काठमाडौं । प्रदेशमा निर्वाचन नै नलडेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एक जना प्रदेश सांसद भएको छ ।
ती सांसद हुन्– डा. ताराप्रसाद जोशी । प्रत्यक्ष र समानुपातिक कतै निर्वाचन नलडे पनि रास्वपाको प्रदेश सांसद हुनु त्यसै रोचक हो ।
डा. जोशी डडेल्धुराको प्रदेश (ख)बाट २०७९ मा भएको प्रदेश संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए ।
उनी सुदूरपश्चिम प्रदेश संसद् सदस्य हुन् । उनै जोशी हालै रास्वपा सांसद भएका छन् । उनीसँग नेपालवान एचडीले गरेको संक्षिप्त संवादको सम्पादित अंश :
000
स्वतन्त्र सांसद तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभएको हो ?
हामीले उज्यालो नेपाल पार्टी बनाएका थियौँ । त्यो पार्टीको एकता हालै राष्ट्रिय स्वतन्त्र पार्टीसँग भयो । त्यसो हुँदा अब म स्वतः रास्वपाको सांसद भएँ ।
रास्वपाले त प्रदेश मान्दैन । प्रदेशमा चुनावै लडेन । त्यो दलको अब तपाईं प्रदेश सांसद ?
हो । तर, यहाँ स्पष्ट पार्नुपर्ने के छ भने रास्वपाले प्रदेश मान्दैन होइन मान्छ । मैले यसबारे पार्टी नेतृत्वसँग स्पष्टता पनि लिएँ ।
मलाई भन्नुभयाे कि ‘प्रदेश निर्वाचनमा तयारी गर्ने समय नै भएन, पार्टी स्थापना भएको केही महिनामै निर्वाचनमा जानुपर्ने भयो र उम्मेदवार खोज्नुपर्ने भयो, हामीलाई त्यसबेला समय पुगेन, त्यसो हुँदा प्रदेशमा उम्मेदवारी नदिने र निर्वाचन नलड्ने हाम्रो तत्कालीन निर्णय हो, हामी प्रदेशको वा संघीयताको विरोधी होइनौँ’ भनेर प्रष्ट पार्नुभयो ।
दोस्रो, रास्वपा प्रदेश मान्छ भन्ने पुष्टि यहाँबाट पनि हुन्छ कि रास्वपाले प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने मान्यता राखेको छ ।
रास्वपाको दस्तावेजमा त्यो छ । त्यसो हुनाले रास्वपाले प्रदेश नमान्ने वा संघीयता नमान्ने भन्ने होइन ।
मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेको छ, त्यो त प्रदेश नमान्ने भन्ने अर्थ लाग्दैन ।
रास्वपा भन्छ– प्रदेश संरचनामा सुधार हुनुपर्छ । नसुधारिकनै तपाईं त रास्वपाकाे प्रदेश सांसद हुनुभयो । तपाईंलाई पार्टीले केही भनेको छैन ?
मैले यस विषयमा पार्टी नेतृत्व (रवि लामिछाने)सँग कुरा गरेको छु । उहाँले प्रदेशको संरचनामा सुधार चाहनु नराम्रो त होइन ।
शासकीय प्रणालीमा सुधार त आम मान्छेले चाहेका छन् । मैले पनि चाहेको छु ।प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित भएन भने केन्द्र सरकारमा समीकरण बदल्ने बित्तिकै नकारात्मक प्रभाव प्रदेशमा परिरहन्छ ।
त्यसलाई रोक्न प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री चाहिन्छ भनेको त प्रदेशको आवश्यकता छ भनेको हो नि ।
तर, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निर्वाचन नलडेको दलको सांसद हुनु त पक्कै असुहाउँदिलो हो नि ?
त्यस्तो हुँदैन । मैले अघि भनिसकेँ । रास्वपाले समय अभावले प्रदेशमा निर्वाचन नलडेको हो । त्यो स्वाभाविक पनि छ ।
पार्टी स्थापना भएको केही महिनामै निर्वाचनको तयारी गर्न सकिँदैन । त्यो पार्टी नेतृत्वले खुला रूपमा भनिरहनुभएको छ । मैले यसमा स्पष्टीकरण दिनु के आवश्यक छ र ?
उसो भए रास्वपाको सुदूरपश्चिम प्रदेश सांसदको रूपमा तपाईंले संसद्मा खेल्ने भूमिका के हुन्छ त ?
मैले हिजो पनि स्वतन्त्र सांसद भएर प्रतिपक्षमा बसेर जिम्मेवार भूमिका निर्वाह गरेँ ।
अब रास्वपामा लागेपछि मलाई ‘पोलिटिकल ब्याकिङ’ हुन्छ र म अझ सशक्त भूमिका निर्वाह गर्छुु ।
