लेखकसँग छानविन आयोगको चार घण्टा पूरक बयान, स्थानहद फुकुवाको तयारी
काठमाडौं । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग चार घण्टासम्म पूरक बयान लिएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुधबार सिंहदरबारमा लेखकसँग विस्तृत रूपमा बयान लिएको हो । यसअघि पनि आयोगले पुस १४ गते करिब दुई घण्टा लेखकसँग बयान लिइसकेको थियो । बुधबारको लामो बयानपछि लेखकले सिंहदरबारमै पत्रकार सम्मेलन गरी आयोगलाई आफूले दिएको विवरणबारे जानकारी दिएका थिए । आयोग स्रोतका अनुसार, बयानका सबै प्रक्रिया पूरा भइसकेसँगै लेखकलाई लगाइएको स्थानहद (यात्रा तथा आवतजावतसम्बन्धी प्रतिबन्ध) फुकुवा गर्ने तयारी सुरु गरिएको छ ।
भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन गृहमन्त्री लेखकले सोही दिन साँझ नै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । उक्त घटनापछि भदौ २४ गते काठमाडौंसहित २८ जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत प्रमुख सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विभिन्न प्रहरी कार्यालयमा आगजनी हुनुका साथै हतियार समेत लुटिएको थियो । आयोग समक्ष दिएको बयानमा लेखकले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुवैले सुरक्षाकर्मीलाई स्पष्ट रूपमा ‘कुनै पनि हालतमा क्याजल्टी नहोस्’ भन्ने निर्देशन दिएको दाबी गरेका छन् ।
उनका अनुसार भदौ २३ गते बिहान समेत उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई फोन गरी संयम अपनाउन र हताहती हुन नदिन विशेष ध्यान दिन आग्रह गरेका थिए । यही विषयमा गृह सचिवसँग पनि निरन्तर समन्वय भएको उनले बताएका छन् ।
लेखकले गृहमन्त्रीको हैसियतमा सुरक्षाका निकायलाई तीन वटा मुख्य निर्देशन दिएको उल्लेख गर्दै लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू लामो समयदेखि राजनीतिक जीवन समर्पित गर्दै आएको दाबी गरेका छन् । ‘विचार अभिव्यक्तिलाई रोक्ने कुरा सोच्न पनि सक्दिनँ’, उनले आयोग समक्ष भनेको विवरणमा उल्लेख छ ।
आयोगले यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की (भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका), काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलगायतसँग बयान लिइसकेको छ । उनीहरूमाथि लगाइएको स्थानहद यसअघि नै फुकुवा भइसकेको छ ।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीले लेखकको बयान प्रक्रिया सकिएको पुष्टि गरेका छन् । आयोग स्रोतका अनुसार, बयान समाप्त भएसँगै अब लेखकको स्थानहद फुकुवा गर्ने निर्णयतर्फ आयोग अघि बढिरहेको छ । यसले घटनासम्बन्धी छानबिन अन्तिम चरणतर्फ उन्मुख भएको संकेत गरेको छ ।
जेनजी आन्दोलनसँग जोडिएका यी घटनाले देशको शान्ति सुरक्षा र राजनीतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको थियो । आयोगको अन्तिम प्रतिवेदनले उक्त घटनाको वास्तविकता, जिम्मेवारी र आगामी सुधारका उपायबारे स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ ।
