`

सुर्खेतका प्रेमबहादुरको इमानदारिताः बाटोमा भेटिएको ८१ हजार रकम दिए फिर्ता

Nepal One HD १७ पुष २०८२ २१:२८
समाज

भेरीगङ्गा (सुर्खेत) – सुर्खेत वीरेन्द्रनगर–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट रु ८१ हजार रकम सापटी लिएर आए । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उहाँको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाउनुभयो ।

घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा पर्नुभयो । अब हराएको रकम काहाँ खोज्ने ? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोज्नुभयो, तर कतै पत्ता लागेन ।

निरास भएर साँझमा घर फर्किएका उहाँले अब हराएको रकम नत घरको गर्जो टार्नलाई भयो, न त कुनै काममा प्रयोग नै भयो । तनावमा बसेका कुमालका आफन्तले रकम भेटिएको कुरा फेसबुकमा भेट्टाए ।

कुमालको रु ८१ हजार रकम वीरेन्द्रनगरमा बस्दै आउनुभएका लेकबेँसी नगरपालिका सुर्खेतका प्रेमबहादुर रास्कोटीले भेट्टाउनुभएको थियो । उहाँले सुरक्षित रुपमा राख्नुभएको उक्त रकम स्थानीय रेडियो भेरी एफएममा बुझाउनुभयो । अनि रेडियो भेरीका पत्रकार मधुवन विसीको रोहबरमा उक्त रकम कुमाललाई नै फिर्ता बुझाइएको छ ।

पछिल्लो समय समाजमा खराब व्यक्ति मात्रै हुन्छन् भन्ने भाष्य निर्माण भइरहेका बेला प्रेमबहादुरले देखाएको इमानदारिताप्रति प्रशंसा भएको छ । उहाँले इमानदारिता, संस्कार र मानवीय मूल्यलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिनुभएको छ ।

रास्कोटीले भन्नुभयो, “मैले बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन । त्यो रकम कसैले अत्यन्तै आवश्यकतामा राखेको हुन सक्छ, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै सही निर्णय ठानेँ । इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ ।”

कुमालले रास्कोटीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “मैले हराएको पैसा भेट्टिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ । यस्तो इमानदार व्यवहारले समाजप्रति विश्वास अझै बढाएको छ ।”

उक्त नगद रकम टेकबहादुर कुमाललाई हस्तान्तरण गरिएको हो । उहाँले देखाउनुभएको उदाहरणले अन्य व्यक्तिलाई सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग बन्न प्रेरित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *