भेनेजुयलामाथि अमेरिकी आक्रमण चीनका लागि सुवर्ण अवसर
ट्रम्प प्रशासनले भेनेजुएलामाथि गरेको आक्रमणले चीनलाई संयुक्त राज्य अमेरिकाभन्दा अन्तर्राष्ट्रिय राजनीतिमा जिम्मेवार शक्तिका रुपमा देखाउने अर्को अवसर दिएको छ। शनिबार अमेरिकाले काराकासमा आक्रमण गरे लगत्तै चिनियाँ विदेश मन्त्रालयले चीन ‘गहिरो रूपमा स्तब्ध भएको’ र ‘कडा रूपमा निन्दा गर्दछ’ भनि अमेरिकी कदमको भत्सर्ना गरेको थियो । ‘एक सार्वभौम राष्ट्रविरुद्ध बलको खुला प्रयोग र त्यसका राष्ट्रपतिविरुद्धको कारबाही’लाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको भनेर टिप्पणी समेत गरेको थियो ।
यो प्रतिक्रिया ट्रम्प प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति प्रकाशित गरेको एक हप्ता पनि नबित्दै बेइजिङले ल्याटिन अमेरिकासँगको सम्बन्धबारे प्रकाशित गरेको श्वेतपत्रसँग मेल खान्छ। अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव सुदृढ गर्ने प्राथमिकता दिएको थियो । यसमा चीनलाई संकेत गर्दै ‘केही विदेशी पात्रहरू’ को प्रभाव कटौतिको मूल्यमा अमेरिकी प्रभाव सुदृढ गर्ने उल्लेख थियो ।
वास्तवमा, बेइजिङको श्वेतपत्रले उक्त क्षेत्रमा विशेषगरि ‘राष्ट्रिय सार्वभौमिकताको संरक्षण’ का लागि र ‘प्रभुत्त्ववाद तथा शक्ति राजनीति’ विरुद्ध लक्षित गरी आफ्नो सम्बन्ध विस्तार गर्ने व्यापक प्रयासहरूलाई रेखांकित गर्यो । चीनको यो प्राथमिकतालाई व्यापक रूपमा संयुक्त राज्य अमेरिकातर्फ लक्षित भनाइका रूपमा बुझियो।
बेइजिङले भेनेजुएलासँग र विशेषगरि राष्ट्रपति निकोलास मादुरोसँग ‘सबै मौसममा टिक्ने रणनीतिक साझेदारी’ कायम गर्दै आएको छ । यसको आधार मुख्यतः चीनमा तेलको आवश्यकता र भेनेजुएलामा लगानीको आवश्यकतामा रहेको छ। वास्तवमा, मादुरोले अमेरिकी सेनाद्वारा पक्राउ पर्नुभन्दा केही घण्टाअघि मात्र चीनका विशेष दूतसँग भेट गरेको देखिन्छ।
यसअनुसार, चीन भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको अन्तर्राष्ट्रिय निन्दामा सहभागी हुनेछ । सम्भवतः संयुक्त राष्ट्रसंघमा हुने कुनै पनि प्रतिक्रियामा अग्रणी भूमिका खेल्नेछ। यसबाट बेइजिङले विकासोन्मुख विश्वभरी मात्रै नभएर अमेरिकी सहयोगीहरूमाझ पनि वाशिङ्टनविरुद्ध कूटनीतिक अंक बटुल्ने अवसर उपयोग गर्नेछ।
केही टिप्पणीकारहरूले बेइजिङले भेनेजुएलामाथि आक्रमण गर्न अमेरिकाले प्रस्तुत गरेको तर्क र प्रयोग गरेको साधनलाई प्रयोग गरेर ताइवानमाथि पनि यस्तै आक्रमण गर्न सक्छ भन्ने सुझाएका छन्। तर, यो असम्भव छ । किनभने बेइजिङ धेरै प्रचलित टिप्पणीहरूको विपरीत ताइवानमाथि आक्रमण गर्दा आउने अन्तर्राष्ट्रिय लागत र निन्दा निम्त्याउने कुनै बहाना वा अवसर खोजिरहेको छैन ।
(पल हिर लेस्टर क्राउन सेन्टर अन यूएस फरेन पोलिसीका वरिष्ठ गैरआवासीय ‘फेलो’ हुन् ।)
