`

राष्ट्रियसभा चुनाव : झाँक्रीसहित एमालेमा क–कसको चर्चा, कसको पक्का ?

Nepal One HD २२ पुष २०८२ १७:१०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंग्याउने प्रक्रिया तीव्र बनाएको छ । सत्तारूढ दलहरूबीचको प्रारम्भिक समझदारीअनुसार एमालेले सात सिट पाउने सहमति भएको छ । तीमध्ये हालसम्म दुई महिला उम्मेदवारको नाम आन्तरिक रूपमा पक्का भएको छ भने बाँकी उम्मेदवारको अन्तिम निर्णय गठबन्धन दलहरूसँगको सहमतिपछि गरिने भएको छ ।

मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशबाट रोशनी मेचे र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनाउने विषयमा सहमति जुटाएको छ । बाँकी उम्मेदवारको नाम टुंग्याउने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको सचिवालय स्रोतले जनाएको छ । कोशी प्रदेशमा महिला क्लस्टर लिने सहमति भएसँगै रोशनी मेचेको नाम टुंगिएको हो ।

झापाकी मेचे लोपोन्मुख समुदायबाट प्रतिनिधित्व गर्ने महिला हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत थिइन् । यसअघि मेनुका काफ्लेको नाम पनि चर्चामा रहेकामा अन्ततः मेचेमा सहमति जुटेको हो ।
सुदूरपश्चिम प्रदेशमा पनि महिला उम्मेदवार उठाउने सहमति अनुसार लीलाकुमारी भण्डारीको नाम पक्का भएको छ । पूर्व माओवादी पृष्ठभूमिकी भण्डारी २०५५ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएकी हुन् । उनले अनेमसंघ (क्रान्तिकारी) को जिल्ला सचिव, माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जस्ता जिम्मेवारी सम्हालेकी थिइन् । पछि नयाँ शक्ति पार्टी हुँदै एमालेमा आबद्ध भएकी उनी एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् र पछिल्लो समय पोलिटब्युरो सदस्यको भूमिकामा थिइन् ।

मधेस प्रदेशमा पनि महिला उम्मेदवार लिने सहमति भए पनि नाम टुंगिन बाँकी छ । प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठका अनुसार सम्भावित नामबारे छलफल जारी छ । बागमती प्रदेशमा पुरुष उम्मेदवार लिने तयारी भइरहेको छ । यदि पुरुष क्लस्टर एमालेले पाए प्रेम दंगालको नाम लगभग पक्का मानिएको छ । तर महिला क्लस्टर परेमा नयाँ नाममा छलफल हुने बताइएको छ ।

गण्डकी प्रदेशमा पनि पुरुष उम्मेदवार लिने सहमति भएको छ । यहाँ दीपक पौडेल र चक्रबहादुर पराजुलीबीच चर्चा चलेकोमा हाल पराजुलीकै सम्भावना बलियो देखिएको एक नेताले बताएका छन् । लुम्बिनी प्रदेशमा महिला उम्मेदवार लिने सहमति भए पनि नाम टुंगो लाग्न बाँकी छ । यस प्रदेशबाट नेतृ रामकुमारी झाँक्रीको नाम पनि चर्चामा रहेको बताइएको छ ।

कर्णाली प्रदेशमा ऋषि शर्मा र बलबहादुर महतको नाममा छलफल भइरहेको छ । पार्टीभित्र शर्माकै सम्भावना बलियो रहेको चर्चा छ । राष्ट्रियसभाका रिक्त १९ सिटमध्ये १८ सिटका लागि बुधबार मनोनयन दर्ता हुँदैछ । प्रदेश–प्रदेशमा हुने निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी-नेकपा उल्लेखित) र जसपा नेपालबीच तालमेलको तयारी भइरहेको छ ।

प्रारम्भिक समझदारीअनुसार कांग्रेसले ७, एमालेले ७, नेकपाले ३ र जसपा नेपालले १ सिट पाउने सहमति भइरहेको एमाले नेताहरूले बताएका छन् । यद्यपि कांग्रेसले ८ सिट दाबी गर्दै आएको छ भने जसपा नेपाल पनि एक सिटमा पूर्ण रूपमा सन्तुष्ट नभएको बताइन्छ । एमालेभित्र आएका विभिन्न तहका सिफारिसमध्ये गठबन्धन दलहरूसँग क्लस्टर सहमति भएपछि मात्रै अन्तिम नाम सार्वजनिक गरिने बताइएको छ । यससँगै राष्ट्रियसभा निर्वाचनमा एमालेको उम्मेदवार चयन अब अध्यक्ष ओलीको निर्णयमा केन्द्रित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *