नेकपा बाहिरिएपछि कांग्रेस–एमाले–जसपाको चुनावी तालमेल, राष्ट्रिय सभाका १८ सिट भागबण्डा
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा (प्रचण्ड नेतृत्व) सँग सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल कायम भएको छ । तीन दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिट पाउने गरी भागबण्डा गरिएको छ ।
यसअघि कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच चारदलीय सहमतिको प्रयास भए पनि सिट संख्यामा सहमति हुन सकेन । नेकपाले चार सिटको दाबी गरेकामा कांग्रेस र एमाले तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीले अब सबै प्रदेशमा एकल उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।
कांग्रेसका नौं उम्मेदवार टुंगो
सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेशगत रूपमा कांग्रेसका उम्मेदवार यस प्रकार छन्–
कोशी–सुनिलबहादुर थापा
मधेस–धमेन्द्र पासवान र रञ्जित कर्ण
बागमती–गीता देवकोटा
गण्डकी–जगत तिमल्सिना
लुम्बिनी–बासुदेव जंगली र चन्द्रबहादुर केसी
कर्णाली– ललितबहादुर शाही
सुदूरपश्चिम–खम्मबहादुर खाती
कांग्रेसको आन्तरिक भागबण्डाअनुसार शेखर कोइराला पक्षबाट रञ्जित कर्ण, बासुदेव जंगली र गीता देवकोटाले अवसर पाएका छन् ।
एमालेका आठ उम्मेदवार
नेकपा एमालेले पनि राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना उम्मेदवार चयन गरेको छ। एमालेका उम्मेदवारहरू यस प्रकार छन्–
कोशी–रोशनी मेचे
मधेस–रेखा झा
बागमती–डा. प्रेमकुमार दङ्गाल
गण्डकी–सम्झना देवकोटा
लुम्बिनी–रामकुमारी झाँक्री
कर्णाली–मीना रखाल
सुदूरपश्चिम–लीलाकुमारी भण्डारी
जसपा नेपालको एक सिट
तीन दलबीचको सहमतिअनुसार जसपा नेपालबाट महन्थ ठाकुर राष्ट्रिय सभा उम्मेदवार बन्ने भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । यद्यपि अन्तिम क्षणसम्म दलहरूबीच थप राजनीतिक छलफल र रणनीतिक समन्वय चलिरहेको देखिन्छ । चारदलीय सहमति असफल भएपछि बनेको यो नयाँ समीकरणले राष्ट्रिय सभाको निर्वाचनलाई थप प्रतिष्पर्धी बनाउने आँकलन गरिएको छ ।
