विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
तम्घास (गुल्मी), २५ पुसः नेपाली कांग्रेस, जिल्ला कार्यसमिति गुल्मीले पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ । पार्टी जिल्ला सभापति खिलध्वज पन्थीले आज एक विज्ञप्ति जारी गर्दै यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा उपस्थित हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभएको हो ।
पार्टीको वैचारिक स्पष्टता, सङ्गठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे निर्णय लिने महाधिवेशन भएकाले सोका लागि उपस्थित हुने सबै प्रतिनिधिलाई सभापति पन्थीले आग्रह गर्नुभयो । “कांग्रेस केवल एउटा सङ्गठन मात्र नभई लोकतन्त्र, समावेशिता तथा समुन्नत नेपालको आधारशिला भएकाले प्रतिनिधिहरूको अनुपस्थितिले पार्टी र देशको भविष्यमा प्रत्यक्ष असर गर्ने भएकाले उपस्थितिका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसमा यहाँबाट ५२ जना महाधिवेशन प्रतिनिधि रहेकामा विशेष महाधिवेशनका लागि ४६ जनाले हस्ताक्षर गरेका पार्टीका सहसचिव छवि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दामोदर भुसाल, महेन्द्र भण्डारी, चन्द्र केसी, सुवर्ण ज्वराचन र छन्द पहराईले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुभएको छैन । नेता भण्डारीले पहिले हस्ताक्षर नगरे पनि अहिले विशेष महाधिवेशनमा सहभागी हुने बताउनुभयो । कांग्रेसको एक जना महाधिवेशन प्रतिनिधिले भने पार्टी परित्याग गर्नुभएको छ ।
