गगनजीलाई सभापति बनाउनुपर्छ भन्ने माहोल छ, देउवा कारबाही गर्ने तहमा पुग्छन् भन्ने लाग्दैन : प्रतिमा गाैतम
काठमाडौं । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन हुँदै छ । विशेष महाधिवेशनलाई कांग्रेस विभाजनको ‘पानीढलो’ भनिएको छ ।
गगन थापालाई सभापति चयन गर्ने विशेष महाधिवेशन पक्षधरहरूले बताउने गरेका छन् । त्यो भनेको सभापतिबाट शेरबहादुर देउवालाई हटाउने भनिएको हो ।
यसबीच आजै देउवालाई केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका छन् । सम्भवतः विशेष महाधिवेशन पक्षधरहरूलाई देउवाले कारबाही गर्दैछन् । यी विकसित घटनाक्रमले कांग्रेस सग्लो रहने सम्भावना न्यून बनाएको छ ।
यिनै सन्दर्भमा पूर्वसांसदसमेत रहेकी विशेष महाधिवेशन पक्षधर नेतृ प्रतिमा गौतमसँग गरिएको संवादको सम्पादित अंश
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि हुँदैछ । विशेष महाधिवेशनमा के हुन्छ ?
नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनमा देशभरिबाट हर्षौल्लासका साथ साथीहरू आउनुभएको छ । महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी छ । आज उद्घाटन सत्र हुन्छ । भोलि बन्द सत्र हुन्छ ।
आजको उद्घाटन सत्र काठमाडौं सभापति सबुज बानियाको सभापतित्वमा हुन्छ । भोलिको बन्दसत्र ज्येष्ठ सदस्य ओमकार श्रेष्ठको सभापतित्वमा हुन्छ ।
भोलि चाहिँ हामी बन्द सत्रमा कांग्रेसको नीति र नेतृत्व परिवर्तनबारे छलफल गर्छौँ । त्यसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हलमा बहस गर्नु हुनेछ ।
बहस मात्रै हुन्छ कि नीति र नेतृत्व दुवै फेर्नुहुन्छ ?
त्यो हलले निर्देशित गर्ने विषय हो । मैले अहिल्यै भन्न सकिने भएन । तर, आम साथीहरूको भावना चाहिँ नीति, नेतृत्व दुइटै फेरिनुपर्छ भन्ने छ । त्यो हललाई नै जिम्मा दिऔँ । बन्द सत्रको हलको भावनाअनुसार सबै अगाडि बढ्छ ।
गगन थापा सभापति बन्छन् त ?
हजुर, एकदमै । गगनजीलाई सभापति बनाउनुपर्छ भन्ने माहोल छ । अहिले नारा जुलुस साथ देशभरिबाट गगनजी सभापति हुनुपर्छ भन्दै महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ ।
मलाई लाग्छ, अब भोलि सभापतिबारे बहस हुन्छ । आज उद्घाटन सत्र मात्रै हुने हो । भोलि बन्द सत्रमा टुंगो लगाउँछ ।
जे होस् अधिकांश साथीहरू नीति र नेतृत्व दुइटै परिवर्तन गर्नुपर्छ भनेर आउनुभएको देखिन्छ । यहाँको माहोलले पनि त्यो भन्छ ।
वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्ने भनिएको सन्दर्भमा अहिले नै विशेष महाधिवेशन गर्नुको आवश्यकता किन पर्यो ?
नियमित महाधिवेशनको जुन तालिका ल्याइएको थियो, त्यो तालिकाअनुरूप केन्द्रीय समिति अगाडि बढ्न सकेन । पटकपटक तालिका फेरिनु र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आजभन्दा ठीक तीन महिना अगाडि विशेष महाधिवेशन धारा १७ को (२) अनुसार उहाँहरूले हस्ताक्षर गरेर माग गर्नुभएको थियो ।
सो अनुरूप आज तीन महिनाको अन्तिम दिन भएको हुँदा विशेष महाधिवेशनको अनिवार्यता थियो । त्यो विधानको धारामा भएको ‘म्यान्डेटरी’ थियो । त्यो विधानको धारा म्यान्डेटरी व्यवस्था हुँदा आज विशेष महाधिवेशन भयो ।
यो कसैको रहर, कसैको चाहना, कसैको इच्छाले भन्दा पनि हामीलाई त्यो विधानले दिएको व्यवस्थाअनुसार विधि र प्रक्रियाअनुसार हामी अगाडि बढेका हौँ ।
तर, सभापति शेरबहादुर देउवाले आजै केन्द्रीय समितिको भर्चुअल बैठक पनि बोलाएका छन् । सम्भवतः कारबाही गर्ने होला विशेष महाधिवेशन पक्षधरहरूलाई । कारबाही गरे भने वा विशेष महाधिवेशनबाट देउवालाई सभापतिबाट हटाए त पार्टी त फुट्छ होला नि ?
मलाई लाग्दैन त्यस्तो । हामी विधानभन्दा बाहिर गएर अगाडि बढेको भएदेखि यी कुराहरू हुन्थ्यो होला । तर, विधानसम्मत ढङ्गबाट अगाडि बढ्दाखेरि कारबाही हुने कुरा हो भने यो धेरै पार्टीको संगठनको हितमा हुँदैन ।
५४/५५ प्रतिशत साथीहरूलाई बाहिर राखेर सभापतिले क–कसलाई कारबाही गर्न सक्नुहुन्छ ? मलाई त्यो लाग्दैन कि उहाँहरूले त्यो कदम चाल्नुहुन्छ भन्ने ।
तर, जे भए पनि कांग्रेस जुट्ने होइन, फुट्ने त निश्चित भयो होइन ?
हामी कांग्रेसलाई बलियो, सुदृढ, सशक्त, जनमुखी, जनताको आवाजलाई बुझ्न सक्ने सशक्त पार्टी बनाएर अगाडि बढाउन चाहन्छौँ । अहिले नै कांग्रेसमा रक्त सञ्चार भइसकेको छ ।
देशभरिबाट कांग्रेसमा उत्साह भरिएको छ । त्यसकारण यो उत्साह र रक्त सञ्चारलाई फेरि हामीले गाउँसम्म पुर्याएर गाउँका सबै नागरिकहरूलाई गोलबद्ध गर्दै कांग्रेस नयाँ सन्देश र नयाँ नीतिसहित निर्वाचनमा अगाडि बढ्नुपर्छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट यदि गगन थापा सभापति चुनिए मान्यता दिएन भने अवस्थामा के होला ?
अहिले त्यति धेरै नसोचौँ । भोलिको हलले कुन ढंगबाट विशेष महाधिवेशनलाई अगाडि बढाउँछ ? त्यसपछि मात्रै निष्कर्ष हुन्छ ।
