कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि
काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराउनुभएको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज आठ ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) बाट १७८ र भातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।
