`

गगन-विश्‍व ‘एक्सन’मा उत्रिँदा देउवा दर्शक, शेखर ‘कन्फ्युज’, काँग्रेस विभाजन उन्मुख

Nepal One HD २८ पुष २०८२ १९:०७
अन्तर्वार्ता/बिचार

काठमाडौं । कांग्रेसमा गुट र भागबण्डा नयाँ कुरा होइन । तर, गगन-विश्‍वले विशेष महाधिवेशन डाकेपछि भने पुरानो समीकरणमा उथलपुथल आएको छ । भित्रभित्र स-साना गुटउपगुट रहलान् नै तर मुख्य रुपमा अब दुई समूह हुनेछन्- विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशन विरोधी ।

हिजो महाधिवेशन सुरू हुँदासम्म त सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै उपस्थित भइदेलान् भन्‍ने आश थियो । यस्तो अपेक्षा गर्नलाई ३१ वर्षअघि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको उदाहरण थियो । कहाँका किसुनजी, कहाँका शेरबहादुर दाइ ! बिहान बन्दसत्र सुरू हुनुअघि स्वकीय सचिव भानु देउवामार्फत खबर पठाए- महाधिवेशनस्थल आउँदै आउँदिनँ ।

देउवा नआएपछि अहिलेको संस्थापन पक्ष प्रष्ट रुपमा विशेष महाधिवेशनको विपक्षमा हुने नै भयो । २२ वर्षअघि आफैंले पार्टी फुटाएका शेरबहादुर देउवा विगत तीन महिनादेखि पार्टी विभाजनको बाटोमा हिँडेको दर्शक भएर हेरिरहेका छन् । दर्शक नभएर, कुनै लोभलालच नराखेर, समस्या समाधान गर्न चाहेको भए उनीसँग विकल्प थियो ।

दुई महामन्त्री गगन-विश्‍वले समयमै नियमित महाधिवेशन गरौं भनेकै थिए । महाधिवेशन गर्न कुन-कुन मितिमा के-के गर्ने भनेर तालिका पनि ल्याएका थिए । देउवाले यसैलाई कार्यान्वयन गराएर समयमा महाधिवेशन गराउन भूमिका खेलेको भए उनको हाइहाइ हुने थियो । तत्काल काँग्रेसभित्र त उनको पक्ष-विपक्ष हुन्थ्यो होला तर इतिहासमा उनी काँग्रेसले श्रद्धाका साथ सम्झिने पात्र हुने थिए । विशेष महाधिवेशनको बाटो हुँदै पार्टी फुट्यो भने बहुदलपछि हुने काँग्रेसको दोस्रो विभाजनको दोष उनकै थाप्लोमा पर्ने छ । उनी श्रद्धा होइन, आलोचनाका पात्र हुने छन् ।

उनलाई यो ठाउँसम्म उनकै निकटतमहरूले ल्याइपुर्‍याए । गणेशले झैं कैलाश फेरो मार्ने उनका श्रद्धालुहरूलाई डर थियो- महाधिवेशनबाट गगन वा शेखर सभापतिको रुपमा आए भने सभापति हुने त आशै छोडौं, पार्टीमा अहिले भएको हालीमुहाली पनि सिद्धिने डर ।

बरु अवसर थियो त शेखर कोइरालालाई । उनको मध्यमार्गको नीति सुरूमा ठिकै सुनिएको थियो । तर, यो मध्यमार्गले न गगन-विश्‍वलाई वैशाखे महाधिवेशनका लागि मनाउन सके, न देउवा पक्षलाई समयमै महाधिवेशन गर्न मनाउन सके ।

यो मध्यमार्गमा के गर्ने हो भन्‍नेमा उनी कन्फ्युजमै रहे । अहिलेकै नेतृत्वमा पुनर्संरचनाको प्रतिबद्धता नगरी काँग्रेसमा चुनावमा जानै हुँदैन भन्‍ने दुई महामन्त्रीको तर्क पनि उनलाई ठिकै लाग्यो । तर, चुनावको मुखमा कता महाधिवेशनतिर लाग्‍ने भन्‍ने संस्थापनको तर्क पनि उनलाई गलत लागेन । उनले कुनै निर्णय लिन सकेनन् । कन्फ्युजनमै रहे ।

उनको कन्फ्युजन यति लामो समय रह्यो कि विशेष महाधिवेशन सुरू हुँदा पनि उनले कुनै निर्णय लिन सकेनन् । बरू अर्को कन्फ्युजन थपियो- विशेष महाधिवेशनमा जाने कि नजाने ? अहिलेसम्म उनले कुनै निर्णय गर्न सकेका छैनन् ।

बरू, विशेष महाधिवेशनको उद्घाटन सत्र हेरेपछि भोलिपल्ट बिहानै सभापति देउवा भेट्न उनी महाराजगञ्‍ज गए । देउवालाई भने- पार्टी विभाजन हुँदैछ, यसलाई रोक्नुस् । तर, यो विभाजन रोक्ने कसरी हो ? उनले कुनै उपाय सुझाउन सकेनन् ।

शेखर निकटकै केही नेताहरू भन्छन्, समयमा नियमित महाधिवेशन गरेर वा विशेषमा उपस्थिति भएर यो संकटको बेलामा पार्टीको नेतृत्व गर्ने अवसर उनीसँग थियो, जसलाई उनले गुमाए । खासगरी, गगन र विश्‍वलाई आफ्ना प्रतिस्पर्धीका रूपमा हेर्ने उनको दृष्टिकोणका कारण उनी अनिर्णयको बन्दी भए ।

विशेष महाधिवेशनको दोश्रो दिन साँझ सभापति देउवा पक्ष र गगन-विश्‍व पक्षबीच संवाद हुने वातावरण बनिरहेको छ । यदि यो संवादले कुनै पनि निकास दिएन भने केही समय काँग्रेसमा विशेष महाधिवेशनले छानेको र पुरानो दुई वटा नेतृत्व हुनेछ । अनि, विशेष काँग्रेस र नियमित कांग्रेस हुने छ ।

यो विभाजन रेखा मेटाउन काँग्रेसको वर्तमान नेतृत्व र विशेषले छान्‍ने नेतृत्व सफल होला त ?  यसको जवाफ समयले दिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *