महासचिव पोखरेलको दाबी – आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा हुनेछ
काठमाडौँ, २८ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने बताउनुभएको छ ।
बागमती प्रदेश सङ्गठन कमिटीले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो ।
उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो । “हामी धेरै गतिविधि गर्दैछौँ । मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौँ । त्यो हाम्रो कमजोरी हो”, उहाँले भन्नुभयो, “पहिले हामी हरेक व्यक्तिका घरघर पुगेर संवाद गथ्र्यौँ । उनीहरुलाई एमाले बनाउन मेहनत गथ्र्यौँ । तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ ।”
महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताउनुभयो । “चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो ।
