देउवा ‘म्याग्ना कार्टा’ तिर, ओली–प्रचण्ड लुई र जारको बाटोमा : घनश्याम भुसाल
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली राजनीतिमा निर्णायक मोड आएको ठहर गर्दै कांग्रेसको विशेष महाधिवेशनलाई मात्र नभई दशकौंदेखि सत्ता घुमाउँदै आएका ‘नालायक पुस्ता’ को समग्र संकटको संज्ञा दिएका छन् । उनका अनुसार यो अवस्था कुनै एक दलको समस्या होइन, पुरानो राजनीतिक संरचनाको पतनको प्रारम्भ हो ।
भुसालको विश्लेषणमा संविधान बनेपछि नेपाली समाजले त्यसलाई बोक्न सक्ने, भरोसायोग्य राजनीतिक शक्ति खोजेको थियो । तर कांग्रेस र कम्युनिष्ट दुवै धार त्यस जिम्मेवारीमा असफल भए । यही शून्यताबाट बालेन शाह र रवि लामिछाने जस्ता पात्रहरूको उदय भएको उनी बताउँछन् । ‘उनीहरू पुरानाको विरुद्ध लोकप्रिय त छन्, तर राज्य सञ्चालनका लागि भरपर्दा शक्ति बन्न सकेका छैनन्’, भुसालको टिप्पणी छ ।
उनका अनुसार समाज अझै पनि स्थिर, भरोसायोग्य र रुपान्तरित नेतृत्व खोजिरहेको छ । भदौ २३ र २४ गतेपछि पुराना पार्टीका शीर्ष नेताहरूले स्वेच्छाले सत्ता र प्रभावबाट पछि हटेको भए मुलुक पुनः ती पार्टीकै वरिपरि गोलबन्द भइसक्ने उनको दाबी छ । तर एमाले र माओवादी नेतृत्वले ‘दरबार मानसिकता’ त्याग्न नसक्दा अवसर गुमेको भुसालको आरोप छ । कांग्रेसप्रति भने उनले समाजले अझै पनि आशाको नजर राखेको संकेत गरेका छन् । ‘कांग्रेसमा जीवन छ कि छैन भनेर जनता हेरिरहेका छन्’, भुसाल भन्छन्, ‘देउवा दरबारले शक्ति बाँडफाँट गर्ने राजनीतिक ‘म्याग्ना कार्टा’ मा हस्ताक्षर गरे कांग्रेसले यो कठिन परीक्षा पार गर्न सक्छ ।’
भुसालले आफ्नो तर्कलाई विश्व इतिहाससँग जोड्दै बेलायत र जर्मनीका सामन्त वर्गले समयअनुसार आफूलाई रुपान्तरण गर्दा सत्ता र संस्थाको निरन्तरता जोगिएको उदाहरण दिए । विपरीत रूपमा फ्रान्स र रुसका सामन्त वर्गले परिवर्तन अस्वीकार गर्दा लुईं सोह्रौँ र जार निकोलस द्वितीयको दरबार हिंसात्मक अन्त्यतर्फ गएको स्मरण गराएका छन् ।
‘इतिहासमा बाँच्ने भनेको रुपान्तरित हुँदै बाँच्नु हो’, भुसालको निष्कर्ष छ, ‘रुपान्तरणको योग्यता नभएकाले समयको शक्तिसँग ठोक्किनै पर्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोही ऐतिहासिक भूल दोहोर्याइरहेको आरोप लगाएका छन् । ‘यी दरबारहरूले लुईं सोह्रौँ र जार निकोलसको बाटो रोजेका छन्’, भुसाल भन्छन्, ‘परिणाम स्पष्ट छ–न सम्राट बाँकी रहन्छ, न साम्राज्य ।’ उनको चेतावनी दिएका छन्–समयमै सोच्न नसके अब उनीहरू भग्नावशेषमाथि बसेर इतिहास सम्झन बाध्य हुनेछन् ।
