मन्त्रिपरिषद बैठकका १९ निर्णय सार्वजनिक : वित्तीय रणनीतिदेखि राष्ट्रिय सभा अधिवेशनसम्म
काठमाडौं । सरकारले पुस २८ गते सम्पन्न मन्त्रिपरिषद् बैठकका १९ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत ती निर्णय सार्वजनिक गरेका हुन् ।सरकारले आर्थिक क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यसहित वित्तीय क्षेत्र विकास रणनीति (२०८२/०८३ देखि २०८६/०८७) स्वीकृत गरेको छ ।
यस रणनीतिले बैंकिङ, वित्तीय पहुँच, लगानी वातावरण र वित्तीय स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ । त्यसैगरी, सरकारले संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार माघ ४ गते बिहान ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिने जानकारी प्रवक्ता खरेलले दिएका छन् ।
मानव बेचबिखन विरुद्ध नयाँ नीति
मन्त्रिपरिषद् बैठकले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । यो नीतिले मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, पुनःस्थापना तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
नियुक्ति र प्रशासनिक निर्णय
बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, नेपाल न्याय सेवा, कानून समूह अन्तर्गतका प्रशासनिक संरचनामा पनि फेरबदल गरिएको छ ।
राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा
राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।
अन्तर्राष्ट्रिय सहभागिता
सरकारले २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ‘४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (IFAD)’ मा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको छ ।
यस सहभागिताले नेपालको कृषि तथा ग्रामीण विकासका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठान हुने अपेक्षा गरिएको छ । पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक सुधार, सामाजिक सुरक्षा, मानव अधिकार संरक्षण, प्रशासनिक व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेट्ने गरी महत्वपूर्ण निर्णयहरू गरेको सरकारको दाबी छ । प्रवक्ता खरेलले यी निर्णयहरूले शासन प्रणालीलाई प्रभावकारी बनाउँदै विकास र सुशासनको दिशामा सरकार अघि बढिरहेको सन्देश दिएको बताए ।


