`

यस्तो छ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित प्रतिवेदन (पूर्णपाठ)

Nepal One HD २९ पुष २०८२ २१:४६
अन्तर्वार्ता/बिचार

नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनको तेस्रो दिनका कार्यक्रमहरु  महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको सांगठनिक तथा राजनैतिक प्रस्तावहरु पारित गरेको छ । बन्दसत्र सुरू भएपछि मंगलबार महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले अलगअलग प्रतिवेदन हलमा पेश गरेका थिए । यी प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुको छलफल र सुझावपछि हलले यी प्रतिवेदन पारित गरेको हो। 

हलले पारीत गरेका प्रस्तावहरु:

१. एकै प्रकारको सदस्यता: नेपाली कांग्रेस, साधारण सदस्य र क्रियाशील सदस्यको ठाउँमा खुल्ला सदस्यतामा आधारित एकै प्रकारको क्रियाशील सदस्यता प्रणाली रहनेछ। पार्टीको सदस्यता लिन इच्छुक व्यक्तिले सम्बन्धित वडा समितिमा वा अनलाइनमार्फत समेत आवेदन दिने व्यवस्था गरिनेछ। आवेदनबारे निर्णय गर्न वडा सभापतिको संयोजकत्वमा तीन सदस्यीय समिति र उजुरी दिने गरी क्षेत्रीय तहको सदस्यता पुनरावेदन समिति गठन गरिनेछ।

२. विशेष प्रवेश (ल्याटरल इन्ट्री): बौद्धिक र व्यावसायिक क्षेत्रमा रहेर लामो समय योगदान दिनुभएका व्यक्तित्वलाई पार्टीको विभिन्न संरचनामा आबद्ध गर्न र विभिन्न तहका निर्वाचनमा पार्टीका तर्फबाट कम्तीमा १० प्रतिशत उम्मेदवार बनाउने गरी छड्के प्रवेश (ल्याटरल इन्ट्री), क्रियाशील सदस्यबाट नेतृत्व चयन, वडा देखि जिल्ला तहसम्म जुन तहको लागि नेतृत्व छनोट गर्ने हो, सोही तहका क्रियाशील सदस्यहरुको प्रत्यक्ष निर्वाचनबाट सो तहको नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गरिनेछ। अधिवेशन प्रतिनिधि बन्नको लागि सदस्यता लिएको न्यूनतम दुई वर्ष हुनुपर्नेछ। 

३. निर्वाचनबारे: प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन क्रियाशील सदस्यताबाट निर्वाचित भएका अधिवेशन प्रतिनिधिबाट हुनेछ।

४. तल्लो तहबाट निर्वाचित हुनुपर्ने: केन्द्रीय सभापतिदेखि अधिवेशन प्रतिनिधिसम्म निर्वाचित भएर आउनुपर्नेछ।

५. समावेशी प्रतिनिधित्व: निर्वाचन र मनोनयन गर्दा समावेशी समानुपातिक सिद्धान्तको मर्मलाई पूर्ण रुपमा आत्मसाथ गर्ने गरी प्रत्येक तहका कार्यसमितिमा एक तिहाई अनिवार्य महिला पदाधिकारी, एक दलित, मुस्लिम, आदिवासी, जनजाति रहने व्यवस्था गरिनेछ। पार्टीका तहगत समिति व्यवहारिक र कार्यमूलक बनाउन सबै तहका समितिको आकारलाई सानो, छरितो र प्रभावकारी बनाउने र समितिभित्रै संविधानको मर्मअनुरुप समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ।

६. उम्मेदवार छनोट प्राइमरीबाट: नेपाली कांग्रेसको उम्मेदवार छनोटसम्बन्धि तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट बढी मत प्राप्त एक महिलासहित तीनजना छनोट गरी तीनजनामध्ये एकजना चयन गर्ने व्यवस्था गरिनेछ।

७. कार्यकाल:  एउटै व्यक्ति पटक-पटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्पराको अन्त्य गर्न पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सिमित व्यक्तिले पटक-पटक अवसर पाउने अवस्थालाई रोक्नको लागि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर एक व्यक्तिका लागि एकपटक मात्र (वान टाइम प्रोपोर्सनल रिप्रिजेन्टेसन) हुने गरी व्यवस्था गरिनेछ। साथै, १, २, ३, ४ को नीतिअनुसार एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र प्रत्यक्ष निर्वाचन प्रणालीबाट चारपटक सांसदको सीमा तोकिनेछ।

८. भातृ संघ: सांगठनिक कुरामा पूर्ण स्वायत्ततासहित अधिवेशन सुनिश्चित गर्न पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन गराउने व्यवस्था गरिनेछ। भातृ संघ र शुभेच्छुक संस्थाबाट पार्टी महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुमध्येबाट उमेदवार हुने गरी एक महिला सहित तीन जना केन्द्रीय सदस्यको व्यवस्था गरिनेछ।

९. शुभेच्छुक संस्था: प्रचलित कानुनले पार्टी सदस्यता लिन निषेध गरेका पेशासँग सम्बद्ध शुभेच्छुक संस्थाहरुसँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत, पेशागत, विशेष र  विशेषज्ञ सम्बन्ध राख्नेछ। तर, सम्बन्धित पेशामा संलग्न व्यक्तिहरुलाई पार्टीको सदस्यता प्रदान गरिने छैन। निजले संस्थामा गरेको कार्यअवधिलाई क्रियाशीलता मापनको आधार बनाउने व्यवस्था गरिनेछ। पेशागत, विधागत क्षेत्रबाट पाँच प्रतिशत सबै तहमा प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ। 

१०. जनसम्पर्क समिति: प्रत्येक जनसम्पर्क समितिको सदस्यता संख्याको अनुपातमा निश्चित संख्यामा प्रतिनिधित्व हुने व्यवस्था गरिनेछ। विदेशमा रहेका नेपालीहरु बीचको समन्वय प्रभावकारिता बढाउन नेपाली जनसम्पर्क समितिको एक अन्तराष्ट्रिय परिषद बनाइने छ। प्रत्येक देशका जनसम्पर्क समितिका वर्तमान र पूर्व अध्यक्षहरु सदस्य रहनेछन्। परिषदले पूर्व अध्यक्षहरुमध्येबाट २७ सदस्यीय अन्तराष्ट्रिय जनसम्पर्क समिति गठन गरिनेछ। अन्तर्राष्ट्रिय परिषदको समितिमा अध्यक्ष एक, उपाध्यक्ष एक, एक महिला सहित प्रत्येक महादेश, एक महिला सहित प्रत्येक महादेशबाट एक-एक खुल्ला सदस्य संख्या २७ मा नबढ्ने गरी अध्यक्षले थप सह-महादेश, हरेक देशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुले एक महादेशमा एक केन्द्रीय, पूर्व र भारतलाई विशेष व्यवस्था अन्तर्गत एक-एक अलग केन्द्रीय सदस्यको व्यवस्था गरिनेछ। 

११.आयोगहरुको निर्वाचन: केन्द्रीय निर्वाचन समितिलाई नेपाली कांग्रेस आन्तरिक निर्वाचन आयोगमा रुपान्तरण गरी निर्वाचन आयोगलाई थप स्वायत्तता दिई स्थायी प्रकृतिको संरचनाको रुपमा विकास गरिनेछ। लेखा समिति, सुशासन समितिको सट्टा स्वायत्त र अधिकार सम्पन्न लेखा आयोग, अनुशासन आयोग,  पुनरावदेन तथा न्यायिक आयोग बनाइनेछ। 

१२. प्रदेश कार्यसमितिको काम, कर्तव्य, अधिकार र भूमिकालाई थप स्पष्टता गरिनेछ। प्रदेश कार्यसमितिमा उम्मेदवार हुन पाउने स्पष्ट व्यवस्था गरिनेछ। 

१३. युवा प्रतिनिधित्व: पार्टीमा युवाको समावेशी र समन्यायिक प्रतिनिधित्व सुनिश्चितताका लागि पार्टीका विभिन्न तहका समिति र निकायमा निम्न अनुसारको व्यवस्था गरिनेछ। पार्टीका प्रत्येक कार्यसमितिमा ४० वर्षमुनिको प्रतिनिधित्व अन्तर्गत ३० वर्षमुनिका १५ प्रतिशत र ३० वर्ष पुरा भई ४० वर्ष नआएका १५ प्रतिशत गरी कुल ३० प्रतिशतको प्रतिनिधित्व रहने गरी व्यवस्था गरिनेछ। उमेर र क्लस्टर समूहका आधारमा हुने प्रतिनिधित्वलाई एक व्यक्तिको लागि एक पटक मात्र हुने गरी व्यवस्था गरिनेछ। अधिवेशन प्रतिनिधिमा केन्द्र र प्रदेश अधिवेशनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र ३० वर्षमुनिको न्यूनतम एकजना पर्ने गरी न्यूनतम चारजना प्रतिनिधि चयन गरिनेछ। महासमिति सदस्यमा हालको व्यवस्थामा थप युवा प्रतिनिधि दुईजना महिला र पुरुष एक-एक र पेशागत क्षेत्रबाट एक जना प्रतिनिधि रहने गरी व्यवस्था गरिनेछ। 

१४. पूर्व आप्रवासी नेपालीको प्रतिनिधित्व: पार्टीका विभिन्न संरचनामा पूर्व आप्रवासी नेपालीको प्रतिनिधित्व सुनिश्चितता गर्नका लागि विदेशमा १० वर्षभन्दा बढी बसोबास गरी महाधिवेशनभन्दा दुई वर्षअघि देश फर्केकाहरुको हकमा वडादेखि केन्द्रसम्म प्रत्येक तहमा न्यूनतम एक महिला सहित दुईजनाको सहभागिता गराइनेछ। प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमध्येबाट न्यूनतम एक महिला सहित दुईजना प्रदेश कार्यसमितिमा निर्वाचित हुनेछन् भने संघीय क्षेत्रबाट निर्वाचित प्रतिनिधि मध्येबाट न्यूनतम एक महिला सहित दुईजना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन्। 

१५. सम्पत्ति विवरण बुझाउनुपर्ने: पार्टीको तर्फबाट कुनै पनि तहको सार्वजनिक पद धारण गर्ने व्यक्तिले उम्मेदवार बन्नुपूर्व नै सम्पत्ति विवरण बुझाउनुपर्ने र स्वघोषणा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। 

१६. केन्द्रीय समितिमा मनोनित गर्ने सम्बन्धमा: विधानको धारा २१ उपधारा १० को सट्टा देहाय बमोजिमको उपधारा १० राखिनेछ । नेपाली कांग्रेसको क्रियाशील सदस्यमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, युवाको प्रतिनिधित्व सम्बन्धि व्यवस्था गरिनेछ ।  समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर प्रत्येक क्लस्टरबाट कम्तीमा एक महिला सहित तीन जना, प्रत्येक प्रदेशबाट कम्तीमा एक महिला सहित तीन जना, जनसम्पर्क समितिबाट कम्तीमा एक महिला सहित तीन जना र अपांगता भएका मध्येबाट एक जना, पेशागत तथा विषयविज्ञताको क्षेत्रबाट कम्तीमा दुई महिला सहित सात जना र ३० वर्ष मुनिका युवाबाट कम्तीमा तीन महिला समेट्ने व्यवस्था गरिनेछ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *