हिमाचलको आगोले निभाएको टाकुरागाउँका नौ जीवन
काठमाडौं । गोपाल विकसँग यही २४ पुसमा काइँला काका धनबहादुर विकले फोनमा भने, ‘तमी निकै छौँ ? वैशाखमा आम् भन्या ।’
धनबहादुर केही वर्षयता भारतको हिमाचलमा बस्थे । गत वर्ष धनबहादुर पत्नी सल्यानको टाकुरागाउँ आएकी थिइन् । छोराको जन्मदर्ता बनाएर गइन् । त्यसयता धनबहादुर परिवार हिमाचलमै थियो ।
गोपाललाई फोनमा धनबहादुरले कमाइ राम्रो नभएको भन्दै आउने वैशाखमा परिवारसहित गाउँ फर्किने भनेका थिए । ‘यहाँ पनि राम्रो कमाइधमाइ छैन केरे । वैशाखमा परिवारै लिएर घर फर्किने हो,’ उनले धनबहादुर भनेको सुनाए ।
यही फोन संवाद अन्तिम बन्यो । धनबहादुरसहित उनकी श्रीमती, दुई छोरी र एक छोराले हिमाचलमा ग्यास सिलिण्डर विस्फोट भएर लागेको आगलागीमा परेर सोमबार ज्यान गुमाए । धनबहादुर ३२ वर्षका थिए ।
टाकुरागाउँकै काशीराम विक, उनकी श्रीमतीसहित छोराछोरी गरेर चार जना आगलागीमा परे । भुइँतलामा भएको दोकानमा सिलिण्डर विस्फोट भएर आगलागी हुँदा माथिल्ला तलामा सुतेका धनबहादुर र काशीरामका परिवारले ज्यान गुमाउनुपर्यो ।
एउटै गाउँका नौ जनाको ज्यान गएको घटनाले टाकुरागाउँ शोकमा छ । बुधबार त्यहाँका सरकारी कार्यालयमा ताला लाग्यो । विद्यालयहरूका ढोका बन्द भए ।
टाकुरागाउँ शवहरूको पर्खाइमा छन् । तर, भीषण आगजनीले धेरैको शव नष्ट भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार दुईवटा शव फेला परेको र बाँकीको खोजी जारी छ ।
