`

नेपाली कांग्रेसको विभाजन प्रकृया अब कसरी अघि बढ्छ ?

Nepal One HD ३० पुष २०८२ १४:१५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध रूपमा सभापति निर्वाचित गरेपछि नेपाली कांग्रेस विभाजनको औपचारिक प्रकृया सुरू भएको छ ।

यता देउवा पक्षले भने विशेष महाधिवेशनको अगुवाई गरेका महामन्त्रीहरू गगन थापा र विश्‍वप्रकाश शर्मालाई कारबाही गर्ने तयारी गरिरहेको छ ।

बुधबारबाट कांग्रेस शेरबहादुर देउवा र गगन थापा दुई जनाले नेतृत्व गर्ने अलग-अलग समूहमा विभाजित हुने छ ।  तर, यो विभाजन वैधिनक रुपमा टुंगोमा पुग्‍न केही समय लाग्‍ने छ ।

पार्टी विभाजनका लागि सबैभन्दा पहिले निर्वाचन आयोगले के निर्णय दिन्छ भन्‍ने महत्वपूर्ण हुने छ । विशेष महाधिवेशन सकिएपछि महाधिवेशनको निर्णयअनुसार थापा पक्षले निर्वाचन आयोगमा पार्टी नेतृत्वको विवरण अद्यावधिक गर्न निवेदन दिनुपर्ने छ । यो निवेदनअनुसार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई मान्यता दिने वा नदिने निर्णय गर्ने छ । यसका लागि आयोगले राजनीतिक दलसम्बन्धी राज्यको कानुन र नेपाली कांग्रेसको विधानलाई आधार बनाएर निर्णय गर्नुपर्ने हुन्छ ।

थापा पक्षको निर्णयलाई आयोगले मान्यता दिए विशेष महाधिवेशनबाट निर्वाचित समूह कांग्रेसको आधारिक नेतृत्व मानिने छ ।

नेपाली कांग्रेसको विधानमा व्यवस्था भएअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन आव्हान गरिएको र महाधिवेशनमा ५० प्रतिशत भन्दा बढी प्रतिनिधिको सहभागिता रहेकाले आयोगबाट मान्यता पाउने कुरामा थापा पक्ष ढुक्क देखिएको छ । यो विषयमा बुधबार बिहान उनीहरूले कानुनविदहरूसँग सल्लाह पनि लिएका थिए ।

तर, यो महाधिवेशन केन्द्रीय कार्यसमितिले नबोलाएको हुँदा आधिकारिक नहुने देउवा पक्षको जिकिर छ । उनीहरूले विशेष महाधिवेशनबारे केन्द्रीय कार्यसमितिले कुनै निर्णय नगरेको र यो महाधिवेशनबाट निर्वाचित नेतृत्व अवैधानिक हुने दाबी गरिरहेका छन् ।

आयोगले यी दुईमध्ये एक पक्षलाई आधिकारिकता प्रदान गर्ने छ ।

तर, निर्वाचन आयोगको निर्णय नै अन्तिम भने हुने छैन ।

निर्वाचन आयोगले जुन पक्षलाई आधिकारिता प्रदान गरे पनि अर्को पक्ष अदालत जान सक्ने छ । अदालतले पनि राजनीतिक दलसम्बन्धी राज्यको कानुन र नेपाली कांग्रेसको विधानलाई नै आधार बनाएर फैसला गर्ने छ ।

अदालतले देउवा वा थापा पक्ष जसलाई आधिकारिक भन्‍ने फैसला गर्छ, त्यो कांग्रेसको संस्थापन हुने छ । अर्को पक्ष अदालतको फैसलासँग सन्तुष्ट नभएमा र अदालतले आधिकारिकता दिएको नेतृत्वलाई स्वीकार गर्न तयार नभएमा नयाँ पार्टी गठनमा जानुपर्ने हुन्छ ।

यसरी एउटा समूहले अलग पार्टी गठन गरेपछि मात्रै औपचारिक रुपमा पार्टी विभाजन निष्कर्षमा पुग्‍ने छ । यसबीचमा दुई पक्षबीच कुनै पनि प्रकारको सहमति भएमा पार्टी विभाजन रोकिन पनि सक्छ ।

यदि पार्टी विभाजन भएमा यो नेपाली कांग्रेसको इतिहासमा तेस्रो विभाजन हुने छ । पहिलोपटक बीपी कोइरालाका दाजु मातृकाप्रसाद कोइरालाले र दोस्रोपटक वर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस फुटाएका थिए ।

फरक-फरक समूहको दुईवटा नेतृत्व भए पनि फागुन २१ मा हुने निर्वाचनमा भने अहिले निर्वाचन आयोगले मान्यता दिने समूह मात्रै सहभागी हुन पाउने छ ।

नयाँ दल दर्ता र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय सकिसकेकाले नयाँ दल दर्ता हुन चुनाव पछिको समय कुर्नुपर्ने छ । यदि पार्टी विभाजित नै भएको खण्डमा विभाजन भएर बन्‍ने नयाँ दल अर्को चुनावसम्म प्रतिनिधि सभामा हुने छैन । तर, यस्तो दलले प्रदेश र स्थानीय तहको चुनावमा भने भाग लिन सक्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *