`

कांग्रेस दुई फक्लेटाे भएपछि शेखरले भने– भगीरथ प्रयास असफल भयो

Nepal One HD १ माघ २०८२ १४:१५
नेपाली कांग्रेस

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी एकताबद्ध राख्‍ने  प्रयास सफल हुन नसकेको स्वीकार गर्दै विभाजनको वस्तुपरक मूल्यांकन इतिहासकै जिम्मा हुने बताएका छन् ।

कांग्रेस एकताका लागि गरिएको ‘भागीरथ प्रयास’ असफल भएको उल्लेख गर्दै उनले भने, ‘को दोषी र को निर्दोषी भन्‍ने बहस गरेर राष्ट्रिय राजनीतिलाई थप अन्योलमा पार्न म चाहन्‍नँ । हामी सबै कहीँ न कहीँ चुकेका छौँ भन्‍ने कुरा स्वीकार गर्न मलाई कुनै संकोच छैन ।’

उनले यस अवधिमा घटेका विभिन्न घटनाको साक्षी आफू भएको बताउँदै ती घटनाको समीक्षा र व्यक्तिको भूमिकाबारे मूल्यांकन इतिहासले नै गर्ने बताए ।

पार्टीभित्र दृश्य र अदृश्य रूपमा देखिएका अन्तरविरोधका कारण कांग्रेस कठिन समयबाट गुज्रिनुपरेको उनको भनाइ छ ।

आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जान नसक्नुलाई उनले दुर्भाग्य भनेका छन् ।

‘कांग्रेस एक भएर आसन्‍न निर्वाचनमा जानुपर्छ भन्‍नेमा सबैको इमानदार चाहना थियो, तर दुर्भाग्यवश त्यसो हुन सकेन,’ कोइरालाले भने ।

यस्तो परिस्थितिमा बीपी कोइरालाको स्मरण आवश्यक रहेको उल्लेख गर्दै उनले बीपीलाई ज्यानको बाजी लगाएर साथ दिने लाखौँ कार्यकर्ताले लोकतन्त्रका लागि अविचलित संघर्ष गरेको स्मरण गराए ।

केही व्यक्ति र समूहले बीपीलाई छाडेर गए पनि बीपीले त्यसलाई ‘नियतिको खेल’का रूपमा लिने गरेको उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *