मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ वटा भेडा मरे
मुस्ताङ – जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय पछाडि रहेको स्थानीय सन्तोष परियारको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका छन् । आज बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
परियारको परम्परागत खोरको कच्ची ढोकाको बार तोडेर हिउँचितुवा पसी भेडामाथि आक्रमण गरेको एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट परियारलाई करिब रु पाँच लाखको नोक्सान भएको अनुमान छ ।
एक्याप कार्यालयका अनुसार परियारको यसअघि गत मङ्सिर २६ गते पनि हिउँचितुवाले पशुधनमाथि आक्रमण गर्दा १९ वटा च्याङ्ग्रा मरेका थिए । त्यसबाट उहाँलाई करिब रु छ लाखको नोक्सान भएको थियो । पीडित परियारले २०० बढी भेडाच्याङ्ग्रा पालन गरेको बताउँदै उक्त घटनापछि च्याङ्ग्राको बथानबाट भेडाको बथान छुट्याएर अन्यन्त्र स्थानान्तरण गरिएको जानकारी दिनुभयो । सारिएको गोठमा पनि कमजोर पूर्वाधार भएकाले हिउँचितुवा खोरमा पसेर पशुधनमाथि क्षति पुर्याएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।
घटनापछि एक्यापका कर्मचारी घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान गर्न तथा क्षतिको विवरण सङ्कलन गर्न परियारको खोरमा पुगेका छन् । परियारको खोरमा हिउँचितुवा वा चितुवाले आक्रमण गरेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।
करिब ३५ दिनको फरकमा भएका आक्रमणबाट परियारका ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन् । एक्याप कार्यालयले पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम क्षतिपूर्तिको राहत रकम उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
मुस्ताङमा हिउँचितुवासहित अन्य वन्यजन्तु तथा भुस्याहा कुकुरको जोखिमले पशुपालन गरी बसेका किसानले दुःख पाउँदै आएका छन् । पशुधनको सुरक्षित बासस्थानका लागि भरपर्दो पूर्वाधार नहुने भएकाले पशुपालकले सुरक्षित खोर सुधारतर्फ ध्यान दिनुपर्नेमा एक्यापले जोड दिएको छ ।
पछिल्लो समय हिउँचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय पशुपालन व्यवसाय सङ्कटमा पर्दै गएको एक्यापका प्रमुख गुप्ताले बताउनुभयो । हिउँचितुवा र मानवबीचको सहअस्तित्व निर्माण हुनेगरी दिगो र सुरक्षित संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका उच्च लेकमा घाँसको अभाव हुँदा आहारा प्रजाति बस्तीतर्फ झर्ने र आहारको खोजीमा मानिस तथा घरपालुवा पशुमाथि आक्रमण हुने गरेको एक्यापले जनाएको छ ।
