कपी पेष्टले ‘नो ओली’ कमेन्टलाई बनाइदियो ‘नो ओएल’
काठमाडौं । केही दिन यता सामाजिक सञ्जाल फेसबुकको कमेन्टबक्स ‘नो ओली’- ‘अन्ली बालेन’ भन्ने कमेन्टले भरिएको देखिन्छ। विशेषत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका अन्य नेताहरूले गर्ने फेसबुक पोष्टहरूमा यस्ता कमेन्ट धेरै देखिन्छन् ।
सुरुमा त धेरै कमेन्टमा ‘नो ओली’ देखिन्थ्यो। पछि ‘नो ओली’ भनेर लेख्न खोजिएका कमेन्टहरू ‘नो ओएल’ भएकाे देखियाे ।
सामान्यतया ‘नो ओली’ भन्ने कमेन्टले ‘ओली नाइँ’ भनेकाे बुझाए तापनि ‘नो ओएल’ कमेन्टले ‘तेल नाइँ’ भन्ने बुझाउँछ।
आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’ चुनाव लड्न झापा-५ जाने चर्चा छ। यही चर्चालाई आधार मानेर प्रमुख साहका समर्थकहरूले अहिले फेसबुकमा ‘नो ओली- अन्ली बालेन’, ‘नो हर्क-अन्ली बालेन’, ‘नो कुलमान-अन्ली बालेन’ लगायतका कमेन्ट गर्दै चुनावी प्रचार प्रसार गरिरहेका छन् ।
यस विषयमा एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकबाट सिंहदरबार जलाउन, संसद् जलाउन, सर्वाेच्च जलाउन, उधोग जलाउन ‘नो ओली- अन्ली बालेन’ भन्न सुहाउने भन्दै कटाक्ष गरेका छन् । साथै, उनले उधोगलाई सहयोग गर्न, सिंहदरबारको संरक्षण गर्न, अदालतको सम्मान गर्न ‘नो बालेन- अन्ली ओली’ भन्न पनि सुझाए ।
बस्नेतले सामाजिक संञ्जाल फेसबुकमा गरेको उक्त पोष्टपछि ‘नो ओएल’ भनेर गरिएका कमेन्टहरू तुलनात्मक रूपमा बढेका छन् ।
यसरी कमेन्ट गर्ने फेसबुकका प्रयोगकर्तामा एक तिहाई प्रयोगकर्ता नक्कली छन् । यस्ता गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने निर्वाचन आयोगको चिन्ता छ । आयोगले यसअघि सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा फेसबुकबाट फोटो-पोष्टर सार्वजनिक गरेको थियो।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले पनि सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पाइएमा कारबाही हुने बताए।
‘हामीले आचारसंहिता जारी गरेका छौँ, त्यसमा सामाजिक सञ्जालसम्बन्धी आचारसंहिता पनि छ’, जिसीले नेपालवन एचडीसँग भने, ‘सामाजिक सञ्जाल वा प्रविधिको दुरुपयोग गरेर आचारसंहिता उल्लङ्घनका मुद्दा हेर्न नेपाल प्रहरीकाे साइबर ब्युरो नै खटेको छ। उल्लङ्घनका उजुरी आएमा कानुनअनुसार कारबाही हुन्छ।’
