`

निर्वाचनको तयारीबारे गृहमन्त्री अर्याल र आयोग पदाधिकारीबीच छलफल, के के भए कुराकानी ?

Nepal One HD ३ माघ २०८२ १९:११
बिशेष

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज आयोगको कार्यालय, बहादुर भवनमा छलफल गरेका हुन् । त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको जानकारी गराए।

उनले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका र अब निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा बढी काम भएको बताए । आयोगले यही माघ ११ गते राष्ट्रियसभाको पनि निर्वाचन गराउँदैछ । भण्डारीले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने जानकारी दिए ।

गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने विश्वास दिलाउँदै सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको बताए । उहाँले निर्वाचन तयारी, मतदान प्रक्रिया र मतणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले सुरक्षाको प्रत्याभूति गर्ने पनि स्पष्ट गरे ।

आयोगका सचिब कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *