कांग्रेस ‘कलह’ साम्य हुने दिशामा : शीर्ष नेताहरु वार्तामा, टिकटमा ‘रस्साकस्सी’
काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक तनाव मत्थर पार्दै पार्टीलाई एकताबद्ध रूपमा निर्वाचनमा लैजाने प्रयास जारी छ । उम्मेदवार चयन र टिकट वितरणलाई लिएर सभापति गगनकुमार थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहबीच निरन्तर संवाद चलिरहेको छ, जसले सहमति नजिक पुगेको संकेत दिएको छ ।
टिकट टुंग्याउन त्रिपक्षीय छलफल अघि बढाइएको छ । स्रोतका अनुसार कांग्रेस प्रवक्ता देवराज चालिसे, रमेश लेखक र डा. मीनेन्द्र रिजाल छलफलमा सक्रिय छन् । सहमतिका आधारमा उम्मेदवार चयन गर्ने उद्देश्यले संवाद अघि बढाइएको बताइन्छ । यसैबीच सभापति थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आजसम्म टिकटको टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनपछि निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सर्वोच्च अदालतसम्म पुगेको विवादलाई पनि संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको छ । आइतबार राति सभापति थापा र देउवा समूहका नेता रमेश लेखकबीच भएको भेटवार्तालाई सकारात्मक रूपमा हेरिएको छ । उक्त संवादपछि लेखक पूर्व सभापति देउवासँग भेट गर्न महाराजगञ्ज पुगेका थिए । यसैबीच कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
आइतबार राति पार्टी एक भएर निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि आज थापा र शर्माले देउवा भेट्न लागेका हुन् । उनीहरूले महाराजगञ्ज पुगेर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।
‘समय तय भएको छैन । तर आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवालाई भेट्नु हुन्छ’, ती पदाधिकारीले भने । नेता रमेश लेखकले पनि थापा र शर्माले आज देउवालाई भेट्ने सम्भावना रहेको बताए ।
देउवा पक्ष, थापा पक्ष र कोइराला समूहबीच अनौपचारिक र औपचारिक दुवै तहमा छलफल चलिरहेको छ । थापा पक्षबाट रमेश धमला, सुवास पोखरेल र गेजाशर्मा वाग्ले सक्रिय छन् भने देउवा पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, मीन विश्वकर्मा र नैनसिंह महर नियमित संवादमा छन् । कोइराला समूहबाट मिनेन्द्र रिजाल, गोविन्द पोखरेल र सुनील शर्मासँग पनि छलफल भएको छ । संवादमा सहभागी एक नेताका अनुसार ‘कुरा सहमति नजिक पुगेको छ, आज सबै विषय टुंग्याएर मिलेरै निर्वाचनमा जाने समझदारी बन्दैछ ।’
आइतबारको संवादपछि देउवा र कोइराला पक्ष महाराजगञ्जमा सामूहिक छलफल गरी फेरि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग बस्ने तयारीमा छन् । यसैबीच सभापति थापाले उम्मेदवार चयन समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । सामाजिक सञ्जालमार्फत उनले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको र भोलिसम्म टुंगो लाग्ने बताएका छन् । ‘यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो’, भन्दै उनले सबै नेता–कार्यकर्तालाई आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।
देउवा निकट नेता मीन विश्वकर्माले पनि दुबै पक्ष मिलेर जानुको विकल्प नरहेको बताएका छन् । उनले आधा टिकटमा देउवाले र बाँकी आधामा सभापति थापाले हस्ताक्षर गर्ने सहमति स्वीकार गरेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । सर्वोच्च अदालतबाट जुनसुकै निर्णय आए पनि कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने उनको धारणा छ । कांग्रेसभित्र देखिएको लामो समयको कलह संवाद र सहमतिमार्फत अन्त्य हुने दिशामा पुगेको देखिन्छ । आजका छलफलहरूले उम्मेदवार चयन र आन्तरिक विवाद दुवै टुंग्याएर कांग्रेसलाई चुनावी मैदानमा एकढिक्का रूपमा उभ्याउने अपेक्षा गरिएको छ ।
