जनकपुरमा बालेनको भाषण: काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो (पूर्णपाठ)
सर्वप्रथम माता जानकीलाई प्रणाम छ। विभिन्न आन्दोलनमा सहिद भएका ज्ञात अज्ञात सहिदहरुमा सम्मान। आज सबै भाषण सुन्न आएको हुनुहुन्छ। भाषण दिउँ कि नदिउँ ? हामी काम गर्नेवाला मान्छे हो काम गरेर देखाउँछु। काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?
आजभन्दा डेढ महिना पहिला यहाँ रामजानकी विवाह महोत्सव मनाइयो, यो कुरा मनमा खड्किरहेको थियो। जनकपुर विश्वकै प्रतिष्ठित विवाह रामजानकीको विवाह भएको ठाँउ हो, तर हामी विवाह गर्न भारतको जयपुर जान्छौँ। विवाह यही मिथिलामा किन नगरेको ? जब राम र जानकीको विवाह यही ठाँउमा भयो, हामी विवाहको लागि बाली किन जान्छौँ ? सरकारका नीति र ऐन केका लागि हुन् ? जनकपुरको सरसफाई छैन, व्यवस्थापन छैन, यहाँको आकर्षण राम्रो छैन, यो कुन नीति हो ?
आज दुईवटा कुरा प्रष्ट भएका छन्।
पहिलो कुरा, मधेशमा पहिलोपटक सबैजातको मान्छेहरु आएका छन्। एउटा कुरा यहाँ कुनै एक जातको मान्छे मात्रै देखिएको छैन, सबै जातको मान्छे देखिएको छ।
दोस्रो कुरा, यो कुरालाई लिएर जनकपुर धेरै प्रसिद्ध छ। आजभन्दा एक वर्ष पहिले जनकपुर बोल्ट्सले एनपीएलको कप जितेको थियो त्यतिबेला जनकपुर मात्रै होइन, पुरा मधेश मात्रै खुशी भएको थिएन, पुरै देश खुशी भएको थियो। अब सबै जातको विकास हुनुपर्छ, सबै जात खुशी हुनुपर्छ।
एउटा कुरा काठमाडौँमा सोधिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयता बारेको धारणा के हो ? हामी प्रदेश संरचनालाई अझै बलियो बनाएर लैजान्छौँ । प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन, प्रदेशको काम कम्तिमा तीन वा चार पालिकाको काम गर्नु हो।
आज जनकपूरको मेयरलाई प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानुपर्छ। किन ? जनकपुर प्रदेशको राजधानी होइन ? अनि यहाँको काम गर्न काठमाडौँ किन जानुपर्छ ? त्यो काम यतै किन हुँदैन ? हामी काठमाडौँ नगएर यतै काम गर्न मिल्ने गरी प्रदेशलाई बलियो बनाउछौं।
काठमाडौं अधिकार माग्न जाने होइन, पशुपतिनाथ घुम्न जाने हो। काठमाडौं घुम्न जाने हो, स्वयम्भुनाथ जाने हो । दर्शन गर्न जाने हो तर अधिकार माग्न जाने होइन। अहिले काठमाडौंको मेयर भएको चार वर्ष भयो। यो चार वर्षमा कसैसँग भेटघाट गर्न पाइएन। उता दैनिक माइतीघर मण्डलामा उखु किसानको आन्दोलन हुन्छ, मिटरब्याजी पीडितको आन्दोलन हुन्छ। मा त्यतिबेला मुकदर्शक भएर बस्नुपर्यो, केही गर्न सकिएन। काठमाडौँको मेयरका रुपमा मैले केही गर्न सकिनँ। अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकामा एम्बुलेन्स पठाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?
अहिले पुरै देशभर सबैले समाजवादको कुरा गर्छन्, लोकतन्त्रको कुरा गर्छन्। समाजवाद के हो थाहा छ ?
काठमाडौं महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई फ्रिमा पढाइरहेको छ । महङ्गा कलेजमा पढ्न पाउँछन्, पैसा नतिरिकन । बिना ढेउवाके तर विदेश जान होइन, कलेज पढ्न । महँगा स्कुल र कलेजमा वार्षिक २० हजार विद्यार्थी फ्रिमा पढिरहेका छन्। त्यो समाजवाद हो। काठमाडौका महङ्गा हस्पिटलमा २० प्रतिशत बेड फ्रिमा मिल्छ । त्यो समाजवाद हो।
जो समाजवाद काठमाडौँमा छ, त्यो समाजवाद सातै प्रदेशमा चाहियो, ७५३ वटै स्थानिय तहमा चाहियो। चाहियो कि चाहिएन हँ ? ठुलो स्वरमा भनौँ, चाहियो कि नाई ?
काठमाडौमा हामीले पार्टी, पौवा, पोखरी, फाल्चाहरु संरक्षण गरेका छौं । मिथिलामा, जनकपुरमा पनि मन्दिर, पार्टी, पौवाहरुले प्रतिक्षा गरेर बसिरहेका छन्, कसले आएर संरक्षण गरिदेला भनेर । त्यो अब काम रास्वपाले गर्छ । यहाँको भूमिको, पार्टीपौवाको, मन्दिरको संरक्षण रास्वपाले गर्छ। यसका लागि हामीलाई अवसर दिनुपर्छ । हामी काम गरेर देखाईदिन्छौं।
म आज पहिलो पटक भाषण दिँदैछु । मेयर पदबाट राजीनामा दिएर फुर्सद पाए । ४ वर्ष फुर्सद नै थिएन कसरी भाषण दिनु ?
आज म मिथिलाको पावन भूमिमा आएर एउटै कुरा भन्न चाहन्छु- नेपालमा वार्षिक १० लाख पर्यटक आउँछन् । जबकी भारतको अयोध्यामा मात्रै १० करोड पर्यटक आउँछ । हाम्रो जानकी माताको एक करोड पर्यटक ल्याउने क्षमता छ।
जो जहाँजहाँबाट आउनुभएको छ, सबैलाई धन्यवाद। म अन्तिममा एउटै कुरा भन्न चाहन्छु कि- एउटा मधेशी केटो प्रधानमन्त्री बन्ला भनेर घण्टीमा भोट हाल्ने होइन, सही मान्छे ल्याउनका लागि, सही सरकार बनाउनका लागि घण्टीमा भोट हाल्नुस् ।
