निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई विजय गराउन पार्टीभित्र एकता आवश्यक रहेको बताएका हुन् ।
महामन्त्री पौडेलले भने, “फागुन २१ मा हुने निर्वाचन आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय हो, पार्टीभित्रका सबै उम्मेदवारलाई जिताउनु सबैको जिम्मेवारी रहन्छ । पार्टीले पछिल्लो परिस्थिति र जनभावनाअनुसार लोकप्रिय उम्मेदवार तय गरेको छ । पार्टीभित्र एकता कायम राख्नेगरी टिकट वितरण गरिएको छ । क्रियाशील सदस्य नै पार्टीको जितको आधार भएकाले सबै एकताबद्ध भएर लागौँ ।”
उनले पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने र देश विकासमा प्रस्ट दृष्टिकोण समेट्ने गरी घोषणापत्र ल्याउने तयारी गरिएको जानकारी दिए । काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले निर्वाचनमा परिणाम ल्याउने गरी सामाजिक सञ्जालको सदुपयोग गर्न पनि आग्रह गर्दै पार्टी बदलिएको सन्देश आम कार्यकर्ता र जनता दिन जरुरी रहेको बताए ।
