भौतिक पूर्वाधारसँगै रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता: विष्णु पौडेल
रुपन्देही । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगारी प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताउनु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले रुपन्देहीमा निर्माणाधीन तथा प्रस्तावित ठूला पूर्वाधार योजनाहरू सम्पन्न गर्दै औद्योगिक विकास र बहुराष्ट्रिय कम्पनीहरूलाई लगानीका लागि आकर्षित गरिने बताउनु भयो । उहाँले यसमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गरिने बताउनु भयो ।
एमालेको बुटवल–११ देवीनगर तथा बुटवल–१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले रुपन्देहीमा भौतिक संरचनाको विकास उल्लेखनीय रूपमा अघि बढिसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘रुपन्देही भौतिक विकासको चरण पार गर्दै सम्पन्नताको दिशातर्फ उन्मुख हुँदैछ । अब यहाँका नागरिकको जीवनस्तर उकास्ने, रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने योजनामा मेरो ध्यान केन्द्रित हुनेछ। ’
पौडेलले जेनजी आन्दोलनको मुख्य माग रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम अघि बढाइने बताउनु भयो ।
उहाले बुटवलमा निर्माणाधीन १२ तले लुम्बिनी प्रादेशिक अस्पताल सम्पन्न गर्ने, बुटवल–पोखरा सडकलाई दुई घण्टामै यात्रा गर्न मिल्ने गरी विस्तार गर्ने, बुटवल–गोरुसिंगे र बुटवल–नारायणगढ सडक विस्तार सम्पन्न गर्ने, तिनाउ पुलमा सिग्नेचर ब्रिज निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने तथा मेडिकल कलेज स्थापना जस्ता परियोजनाहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र सञ्चालन तथा औद्योगिक क्षेत्र विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले बताउनु भयो ।
आफूले विगतमा गरेका विकासका कामबारे मतदाताहरू जानकार रहेको उल्लेख गर्दै पौडेलले आगामी निर्वाचनमा पनि जनताको समर्थन प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
