खाना पकाउने ग्यासको अभाव नहुने, अनावश्यक स्टक नगर्न निगमको आग्रह
काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन निगरानी बढाएको छ । निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण (स्टक) नगर्न आग्रह पनि गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले ग्यासको आयात नियमित र सहज रूपमा भइरहेको स्पष्ट पारेका छन्। उनका अनुसार हिजो (बुधबार) मात्र इन्डियन आयल कर्पोरेसनबाट १११ बुलेट ग्यास आयात भएको छ, जुन करिब १ लाख ४० हजार ७ सय सिलिन्डर बराबर हो।
भट्टका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध गराउन निगमले ग्यास उद्योगहरूसँग समन्वय गर्दै नियमित रूपमा बिक्री–वितरण गरिरहेको छ। सोहीअनुसार आज (बिहीबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
निगमले सार्वजनिक गरेको बिक्री तालिकाअनुसार आज उपत्यकाका ६६ वटा आधिकारिक बिक्रेता तथा डिपोमार्फत ग्यास वितरण भइरहेको छ। आजका लागि कुल ६ हजार ४० सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ।
निगमले ग्यासको आपूर्ति सहज रहेकाले अफवाहमा नपरी आवश्यकताअनुसार मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

