`

दुई चरणमा निर्वाचन हुन सक्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति ओली-प्रचण्डको प्रतिवाद

रामचन्द्र जोशी २२ माघ २०८२ १५:१२
निर्वाचन विषेश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्न सकिने बताएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा प्रतिवाद गरेका छन् ।

उनले एकै चरणमा निर्वाचन गर्नुपर्ने भन्दै यदि २१ फागुनमा नभ्याइए सार्न सुझाव दिए । दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जिताउने सरकारी खेलको अर्थमा व्याख्या गरे ।

‘भ्याइँदैन भने मिति सार । एकैदिन निर्वाचन हुनुपर्दछ । सोझै मतदानपछि मतगणना गरिनुपर्दछ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन,’ उनले भने, ‘राज्य यसलाई जिताउने र यसलाई हराउने भन्ने पक्षमा लाग्नै हुँदैन । यदि राज्य यसलाई जिताउने यसलाई हराउने पक्षमा लाग्छ भने त्यो निर्वाचन हुँदैन, त्यसले गम्भीर अनिष्ट देशमा पैदा गर्नेछ ।’

प्रधानमन्त्री सुशीला कार्कीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसमी प्रतिकूलताका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रभावित हुन सक्ने संकेत मंगलबार गरेकी थिइन् । उनले मौसम अत्यन्तै खराब भएमा मतदान गराउन वैकल्पिक उपाय अपनाउन सकिने भनेकी हुन् ।

उनका अनुसार कठिन भूभागमा सवारी साधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउने व्यवस्था गर्न सकिन्छ । यदि त्यो पनि सम्भव नभए, त्यस्ता स्थानमा अर्को चरणमा निर्वाचन गराउन सकिने विकल्प खुला रहेको उनको भनाइ थियो ।

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा पुगेकी प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ ।’

हिमाली र उच्च पहाडी भेगमा अझै हिउँ पर्ने हुनाले २१ फागुनमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति उनले कटाक्ष गर्दै पोहोर हिउँदयता जन्मिएकालाई मात्रै हिमालमा हिउँ पर्छ भन्ने थाहा नहुने बताए ।

प्रधानमन्त्री कार्कीको दुई चरणमा निर्वाचन हुन सक्ने भनाइलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आलोचना गर्दै एकैचरणमा निर्वाचन हुनुपर्ने बताए ।

निर्वाचन आयोगले तोकेको मितिमा र घोषित कार्यतालिकाअनुसार देशभर एकसाथ निर्वाचन हुनुपर्ने भन्दै उनले दुई चरणमा निर्वाचन गरिए निर्वाचनको निष्पक्षता, विश्वसनीयता र राजनीतिक स्थायित्वमा प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् ।

बुधबार उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई चरणमा कुनै पनि हालतमा निर्वाचन नगर्न चेतावनी दिए । ‘चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने दुई चरण भनेर नगरियोस्, चुनाव एकै चरणमा होस् ।’

दाहालले देशभर एकैपटक निर्वाचन भए त्यसको निष्पक्षता, स्वच्छता हुने बताए । एकैपटक निर्वाचन गर्दा खर्च कम हुने पनि उनको तर्क छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार दुई चरणमा निर्वाचन गर्दा वा लामो समय निर्वाचन गर्दा पहिलो चरणमा पहिलो हुने दलको पक्षमा माहोल स्वतः बन्छ र निर्वाचन जित्न सहज हुन्छ ।

जस्तो : २०१५ सालको आम निर्वाचन चरणचरणमा भयो । एकातिर निर्वाचन हुँदै गर्दा अर्कातिर मत गणना हुन्थ्यो र त्यसबेला कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । सम्भवतः चरणचरणमा निर्वाचन नभएको भए कांग्रेसको दुई तिहाइ सायद पहिलो आम निर्वाचन २०१५ मा सम्भव थिएन ।

यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन भने तीन चरणसम्म गरिएको थियो । पहिलो चरणमा एमाले पहिलो बनेको थियो । दोस्रो र तेस्रो चरणमा पनि पहिलो नै भयो ।

२०१५ सालमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचन र स्थानीय तहको निर्वाचनले पनि जुन दलको सुरुवाती चरणको निर्वाचनमा ठूलो दल बन्छ, स्वतः अरु चरणको निर्वाचनमा त्यसको प्रभाव परेको देखिएको छ ।

यसपटक २०७९ मा भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माहोल बनेको देखिन्छ । त्यसले पनि दुई कम्युनिस्ट दलका नेताहरू ओली र दाहालले एकैचरणमा निर्वाचनका लागि सरकारमाथि दबाब दिएको विश्लेषण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *