मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताएका छन् । शुक्रवार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गरे। उनले प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उल्लेख गरे । संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारहरुको सूची समेत अधुरो, अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण रहेको अध्यक्ष यादवको भनाइ छ । उनले प्रदेशहरूको पुनःसंरचना आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको रहेको उल्लेख गर्दै मुलुकका सबै क्षेत्रमा अझै समावेशी सहभागिता सुनिश्चित हुन नसकेको बताए।
‘संविधान संशोधनको आवश्यकता हामी संविधान बनेदेखि नै उठाउँदै आएका छौँ, वर्तमान राजनीतिक समस्याहरुको समाधानको लागि वर्तमान संविधान पुनरावलोकन गर्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहहरुका अधिकारहरु एकदमै संकुचि तएको कारण संघीयता कमजोर भएको छ । क्षेत्राधिकारको सूची पनि अधुरो, अपुरो र विरोधाभास रहेको छ । पाएको अधिकार पनि प्रदेशहरुले प्रयोग गर्न पाएको छैन ।’
उहाँले संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रिकृत र एकात्मक ढाँचामा सिमित रहेको कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बन्न पुगेको तर्क गर्दै यी सबै समस्याको समाधान गर्न संविधान संशोधन गर्न जरुरी रहेको पनि बताउनु भयो ।
