सोचेजस्तो खराब हुँदैन श्रीमान-श्रीमतीबीच उमेरको अन्तर
पहिलो नजरमै प्रेम भएको थिएन। रियालिटी–टेलिभिजनका स्टार निक भियालले नाटाली जोयलाई भेट्दा कहिल्यै डेट नगर्ने बताएका थिए। यसको एउटा कारण थियो—नाटाली उनीभन्दा १८ वर्ष कान्छी थिइन्, करिब एक पुस्ताको अन्तर। तर, सन् २०२४ मा उनीहरूले विवाह गरे। अहिले भने निक नयाँ प्रकारको ‘प्रणय’ यात्रामा छन्- नयाँ दर्शकलाई आकर्षित गर्ने प्रयासमा।
निक र नाटालीले सञ्चालन गर्ने डेटिङ शो ‘एज अफ अट्र्याक्सन’ यसै वर्ष नेटफ्लिक्समा आउनेछ। कार्यक्रममा २२ देखि ५९ वर्ष उमेरका अविवाहित व्यक्तिहरू सहभागी हुनेछन्। उद्देश्य एउटै छ- उमेर केवल एउटा संख्या मात्र हो कि होइन? भन्ने थाहा पाउनु ।
निक भियालका अनुसार कार्यक्रममा उमेरसम्बन्धी सामाजिक पूर्वाग्रहलाई पन्छाएर अनुकूलतामा ध्यान दिइनेछ। यो रोमान्टिक सोच जस्तो लागे पनि यसमा तथ्यगत आधार छ। धेरैले सोचे जस्तो उमेरको अन्तर अस्वस्थ हुँदैन।
‘उस्तै पखेटा भएका चरा सँगै उड्छन्’ भन्ने उखान मानिसहरूमा पनि लागू हुन्छ। विवाहसम्बन्धी तथ्याङ्कले दम्पतीहरू प्रायः उमेरमा समान हुन्छन् भन्ने देखाउँछ । यो अनौठो कुरा होइन। मानिसहरू सामान्यतया आफ्नैजस्तो जाति, शिक्षा वा धर्म मिल्ने व्यक्तिसँग जोडी बाँध्न रुचाउँछन्। अमेरिकामा आठमध्ये एक विवाहित दम्पतीको उमेर लगभग समान छ। करिब एक तिहाइ दम्पतीमा उमेरको अन्तर एक वर्षभन्दा बढी हुँदैन । विद्यालय प्रणालीले पनि विद्यार्थीहरूलाई उमेरका आधारमा कक्षामा विभाजन गरेर यो प्रवृत्तिलाई अझ बलियो बनाउँछ।
रोचक कुरा के छ भने पुरुष र महिलाले आफ्नै उमेर आसपासका जोडी रोज्ने प्रवृत्ति देखाए पनि अमेरिकामा दुई तिहाइ विवाहमा पुरुष महिला भन्दा जेठो हुन्छ। यो ढाँचा संसारभर देखिन्छ। प्यू रिसर्च सेन्टरको अध्ययनअनुसार विश्वव्यापी औसत उमेर अन्तर ४.२ वर्ष छ। उत्तर अमेरिकामा पति औसतमा पत्नीभन्दा २.२ वर्ष जेठा हुन्छन्। युरोपमा यो अन्तर २.७ वर्ष छ भने एसिया–प्रशान्त क्षेत्रमा ४ वर्ष। सबैभन्दा ठूलो अन्तर सब–सहारा अफ्रिकामा देखिन्छ—८.६ वर्ष।
उमेरको अन्तर किन यति सामान्य छ? प्रमुख व्याख्या विकासवादी सोचमा आधारित छ। सामान्य धारणा अनुसार, पुरुषहरू प्रजननक्षमता भएका साथी रोज्छन् भने महिलाहरू सन्तान हुर्काउन सक्षम जोडी खोज्छन्। महिलाहरूको युवावस्थामा बढी प्रजननक्षमता हुन्छन् र पुरुषहरूले उमेरसँगै आर्थिक स्रोत–साधन बढाउँछन्। त्यसैले सानो उमेर अन्तरले सन्तान संख्या बढाउन सक्छ भन्ने तर्क छ। तथ्याङ्कले पनि यो देखाउँछ। सन् २००७ मा भियना विश्वविद्यालयका अनुसन्धानकर्ताले जहाँ पति पत्नीभन्दा करिब पाँच वर्ष जेठा छन्, त्यस्ता स्विडिस दम्पतीमा समान उमेरका दम्पतीभन्दा ५% बढी सन्तान हुन्छन् भन्ने पत्ता लगाएका छन्। अमेरिकी तथ्याङ्कले पनि यही प्रवृत्ति देखाउँछ । गरिब देशहरूमा जेठा र आर्थिक रूपमा सक्षम पति हुनु अझ लाभदायक मानिनसक्छ।
यसमा सामाजिक मान्यताले पनि भूमिका खेल्छ। धेरै जेठो वा धेरै कान्छो व्यक्तिप्रति आकर्षित भए पनि, समाजको आलोचना टार्न मानिसहरूले आफ्नै उमेर आसपासका जोडी रोज्न सक्छन्। ‘के तपाईं आफ्नोभन्दा २० वर्ष कान्छो व्यक्तिलाई अभिभावकसँग भेटाउन लैजान सक्नुहुन्छ?’ म्युनिखस्थित लुडविग म्याक्सिमिलियन विश्वविद्यालयकी सामाजिक वैज्ञानिक रेनाटा टोपीन्कोभा प्रश्न गर्छिन्। समयसँगै ‘स्वीकार्य’ को परिभाषा पनि बदलिन्छ। सन् १९२० मा अमेरिकी पति औसतमा पत्नीभन्दा ४.५ वर्ष जेठा थिए, जुन आज २.२ वर्षमा झरेको छ । एक समय चर्चित ‘ट्रोफी पत्नी’—धनी पुरुषका धेरै कान्छी पत्नी—आज अमेरिकामा यति दुर्लभ छन् कि तथ्याङ्कमै स्पष्ट देखिँदैनन् (यद्यपि मार–आ–लागोजस्ता कन्ट्री क्लबमा भने अझै देखिन सक्छन्)।
पहिले फिल्म र टिभीमा उमेरको अन्तर निकै ठूलो देखाइन्थ्यो। “गोन विथ द विन्ड” मा ३८ वर्षीय क्लार्क गेबलले २६ वर्षीया भिभियन लीसँग अभिनय गरेका थिए। “कासाब्लांका” मा ४३ वर्षीय हम्फ्री बोगार्ट र २७ वर्षीया इन्ग्रिड बर्गम्यान जोडी बनेका थिए। अहिले भने पर्दामा देखाइने रोमान्टिक जोडीहरूबीचको औसत अन्तर करिब छ वर्ष मात्र छ। १९४०–५० को दशकमा यो झन्डै २० वर्ष पुग्थ्यो। आजकाल ठूलो उमेर अन्तर देखाइए पनि प्रायः परम्परा उल्ट्याएर—जेठी महिला र कान्छो पुरुषको सम्बन्ध—देखाइन्छ। जस्तै “बेबीगर्ल”, “द आइडिया अफ यू” र “मार्टी सुप्रिम”। यस्ता कथाहरूले सामान्य जीवनको प्रतिनिधित्व भने गर्दैनन्, तर हलिउडको उद्देश्य पनि सधैं यथार्थ देखाउनु हुँदैन।
के फरक–फरक उमेरका व्यक्तिहरूबीचको सम्बन्ध कम स्वस्थ हुन्छ? परम्परागत धारणा अनुसार धेरै उमेर अन्तर भएका जोडीमा समान रुचि, मूल्य वा सांस्कृतिक सन्दर्भ साझा नहुन सक्छ। शक्ति असन्तुलन पनि देखिन सक्छ, विशेषगरी जेठो जोडीले बढी कमाउँदा। सर्वेक्षणले देखाउँछ- धेरै मानिसलाई लाग्छ कान्छो जोडीले अभिभावकजस्तो व्यक्तिको खोजी गरिरहेको हुन सक्छ । वा अझै खराब भन्दा पैसाको। कम्तीमा दश वर्ष अन्तर भएका दम्पतीले बढी सामाजिक आलोचना भोगेको बताउँछन्। नाटाली जोयले पनि आफूलाई अनलाइनमा ”बाल वधु’ जस्ता अपमानजनक शब्दले सम्बोधन गरिएको बताएकी छन्।
तर, अनुसन्धानले फरक चित्र देखाउँछ। यस्ता सम्बन्धहरू प्रायः सन्तुष्ट र दीर्घकालीन हुन्छन्। सन् २००२ मा मास्ट्रिख्ट विश्वविद्यालयको अध्ययनले ठूलो उमेर अन्तर भएका विवाहमा दुवै जनाको जीवन सन्तुष्टि उच्च हुने देखायो। बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले पनि इङ्ग्ल्यान्ड र वेल्समा उमेर अन्तर र सम्बन्धविच्छेदबीच बलियो सम्बन्ध नदेखिएको जनाएको छ। अमेरिकामा पनि यस्तै नतिजा छ। रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्क अनुसार, ठूलो उमेर अन्तर भएका दम्पती साना अन्तर भएकाभन्दा अझ लामो समय सँगै बस्ने गर्छन्। करिब ५,००० दीर्घकालीन सहवास सम्बन्धको अध्ययनबाट द इकोनोमिस्टले अनुमान गरेको छ-पाँच वर्षको उमेर अन्तरले सम्बन्ध औसतमा थप छ हप्ता लामो बनाउँछ।
यद्यपि केही जोखिम पनि छन्। जब पुरुष महिला भन्दा कम्तीमा १६ वर्ष जेठो हुन्छ (वा महिला पुरुषभन्दा कम्तीमा १० वर्ष जेठी), घनिष्ठ साथीबीचको हत्याको जोखिम बढ्ने देखिन्छ। तर यस्ता घटना दुर्लभ छन्। अधिकांश सम्बन्धमा उमेरभन्दा अन्य पक्ष-जस्तै मूल्य, समझदारी, व्यवहार र आपसी सम्मान-अझ महत्त्वपूर्ण हुन्छन्। क्यालिफोर्निया विश्वविद्यालय, डेभिसका प्राध्यापक पॉल इस्टविक भन्छन्, ‘दस वर्षको अन्तर होस् वा दुई वर्षको, सम्बन्धलाई चलाउने कुरा उमेरभन्दा अरू नै हुन्छ।’ उदाहरणका लागि-नेटफ्लिक्समा कुन शो हेर्ने भन्ने कुरा। त्यसमा भने निक र नाटाली पक्कै सहमत हुन सक्छन्।
(द इकोनोमिस्टबाट अनुवाद गरिएको ।)
