`

मोबाइल चोरको रोचक बयान

Nepal One HD ६ वैशाख २०८३ १७:३२
अपराध

काठमाडौं । बर्दियामा मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिले मादक पदार्थ सेवनपछि चोरी गरेको स्वीकार गरेका छन्।

पक्राउ परेका तुलाराम राजीले प्रहरीसमक्ष दिएको बयानमा जेलबाट छुटेको भोलिपल्टै पुनः चोरीमा संलग्न भएको बताएका छन्।

प्रहरीका अनुसार राजी यसअघि पनि मोबाइल चोरी मुद्दामा पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनलाई ३ महिना कैद सजाय तोकिएको थियो र सो सजाय भुक्तान गरी उनी हालै मात्र कारागारबाट छुटेका थिए।

राजीले आफ्नो बयानमा भनेका छन्, ‘कारागारबाट छुटेको दिन बेलुका रक्सी खाएर गाउँमा चोरी गर्ने उद्देश्यले घुमिरहेको थिएँ। बिहान करिब १ बजे शान्तिटोलस्थित एक घरमा झ्यालको तारजाली च्यातेर भित्र पसेर मोबाइल, चार्जर र एरफोन चोरी गरें।’

उनले चोरीपछि भाग्ने क्रममा अत्यधिक मादक पदार्थ सेवनका कारण टाढा जान नसकेको समेत बताएका छन्।

‘रक्सी धेरै खाएको कारण घरबाट करिब १००-१५० मिटर टाढा गहुँबारीमा गएर सुतेँ,’ उनले बयानमा उल्लेख गरेका छन्।

घटनापछि पीडित पक्षले आफ्नो मोबाइलमा फोन गर्दा आएको घण्टीको आवाजका आधारमा प्रहरी टोलीले उनलाई फेला पारेको जनाएको छ।

‘फोनको घण्टी बजेको आधारमा प्रहरीसहित आएको टोलीले मलाई लुकेको स्थानबाट पक्राउ गर्‍यो र मेरो साथबाट चोरीका सामान बरामद गर्‍यो,’ राजीले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *