`

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

Nepal One HD ४ फागुन २०८२ १३:५५
अर्थ समाचार

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सीधा हवाई उडानमार्फत जोड्ने पहल गरिएको बताएका छन् ।
मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यस पहलले मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अब आउने अर्को वर्षको लागि हामी सरकारको भुमिका निर्धारण गर्छौं र खासगरी यो प्रदेशलाई, यो जनकपुर स्थललाई राम सर्किटसँग जोड्ने हाम्रो प्रयास छ । रामायण सर्किटसँग, डाइरेक्ट अयोध्यासंग यता सीता सर्किट र रामायण सर्किटलाई जोडेपछि मलाई लाग्छ यो जनकपुर मात्र होइन मधेश प्रदेशको पनि विकास हुन्छ र मधेस प्रदेश पनि पर्यटकीय स्थलको रुपमा चिनिन्छ र त्यसैको उसमा मैले कुरा पनि अगाडि बढाएको छु ।’

मुख्यमन्त्री यादवका अनुसार प्रदेश सरकारले मधेस प्रदेशलाई रामायण सर्किटसँग जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने योजना अघि सारेको छ । सीता सर्किट र रामायण सर्किटलाई जोड्नसके जनकपुरको मात्र नभई सिंगो मधेश प्रदेशकै विकास हुने र यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको पहिचान बनाउने विश्वास व्यक्त गरे । यस योजनालाई मूर्त रूप दिन छिट्टै भारत भ्रमण गर्ने र त्यहाँका सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तिब्रता दिने बताए। उनले यस कार्यका लागि सकारात्मक आश्वासन प्राप्त भइसकेको र प्रक्रियालाई तत्काल अगाडि बढाइने जानकारी दिए ।

जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि सङ्घीय सरकारसँग समेत समन्वय भइरहेको उनको भनाइ छ । विमानस्थल विस्तार गरी अयोध्याबाट सिधा उडान सञ्चालन गर्नसके दैनिक ५ सय भन्दा बढी भारतीय दर्शनार्थीहरू आउने उनको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *