सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सकियो
निर्वाचन आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र ढुवानीको काम सम्पन्न भएको जनाएको छ ।
शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले उक्त जानकारी दिएको हो । बाँकी रहेका चार वटा प्रदेशमा पनि दुई दिनभित्र ढुवानी कार्य सम्पन्न गर्ने गरी काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् ।
आयोगले सबै जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र ढुवानी कार्यलाई तीव्रता दिएको जनाएको छ । तोकिएको समयतालिकाभित्र सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्यसहित काम अघि बढाइएको आयोगको भनाइ छ ।
सहायक प्रवक्ता श्रीसले भनिन्, ‘हामीले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ र प्याकिङको काम गर्यौँ । त्यस्तै समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गर्यौँ । निर्वाचनका लागि मतपत्र सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी गरिसकेका छौँ । अब बाँकी चार प्रदेशमा पठाउने काम भइरहेको छ र भोलि, पर्सिसम्म आयोगले तयार गरेको कार्यतालिकाभित्रै निर्वाचन सामग्री तथा मतपत्र ढुवानी सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ ।’
आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरिएको छ ।
