`

केन्द्रदेखि वडासम्म किन चलिरहेको छ रास्वपा छोड्ने लहर ?

Nepal One HD १० फागुन २०८२ १४:३४
निर्वाचन

काठमाडौं। पछिल्लो दुई दिनमा केन्द्रदेखि वडासम्म रास्वपा परित्याग गर्ने लहर देखिएको छ । टिकट वितरणको असन्तुष्टी सम्हाल्न नसक्दा चुनावको मुखमा रास्वपामा पहिरो गइरहेको हो । पश्चिम नवलपरासीदेखि बारा, कैलाली, नुवाकोट, मधेस, बागमती र रुपन्देहीसम्मका दर्जनौँ नेता–कार्यकर्ताले धमाधम राजीनामा दिएका छन्। उम्मेदवार चयन प्रक्रिया, आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्व शैलीप्रति गम्भीर आरोप लगाउँदै आएको यो बहिर्गमनले चुनावको मुखैमा रास्वपाको संगठनात्मक अवस्थामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ।

रास्वपा पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका छन्। पार्टीको भनाइ र गराइमा फरक देखिएको तथा पारदर्शिता नदेखिएको उल्लेख गर्दै उनले जिल्ला सभापतिलाई सम्बोधन गरी पद तथा साधारण सदस्यता त्यागेको बताएका छन्। स्थापनाकालदेखि सक्रिय ठकुरीको बहिर्गमनलाई स्थानीय स्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ।

बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पनि असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्। फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पृष्ठभूमिका बिक्रम खनाललाई टिकट दिइएपछि आफू र स्थानीय पार्टी पंक्ति अपमानित भएको महसुस गरेको उनका निकट नेताहरूले बताएका छन्।

बारामा संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन्। उनीसँगै कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादव र देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार रहेका चौधरी यसपटक पनि आकांक्षी थिए। जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्टि उनको राजीनामाको मुख्य कारण हो। ‘उहाँ २५ हजार शुल्क तिरेर आन्तरिक निर्वाचनमा सहभागी हुनुभएको थियो, तर अन्तिममा विधि विपरीत उम्मेदवार चयन भएकोमा असन्तुष्ट हुनुहुन्थ्यो,’ स्वर्णकारले भने। यसअघि पनि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह र गढीमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले राजीनामा दिइसकेका छन्।

धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पनि पार्टी परित्याग गरेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेका विष्टले केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै साधारण सदस्यतासमेत त्यागेको बताएका छन्। उनले पार्टीको निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको आरोप लगाएका छन्। संगठनमा समर्पित कार्यकर्ताको मूल्यांकन नभएको, विधि–विधान कमजोर बन्दै गएको र पारदर्शिता घटेको उनको भनाइ छ। विष्ट पुनः उम्मेदवार बन्न इच्छुक थिए, तर पार्टीले आनन्द बहादुर चन्दलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७९ को निर्वाचनमा उनले तीन हजार ४०५ मत प्राप्त गरेका थिए।

नुवाकोटका नेता अशोककुमार थापाले पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको तथा नेतृत्व नीतिभन्दा ‘आशीर्वाद’बाट चयन हुन थालेको आरोप लगाउँदै पार्टी छोडेका छन्। नुवाकोटकी केन्द्रीय महाधिवेशन प्रतिनिधि कमला रावल पाण्डेले पनि रास्वपाबाट देशको निकास सम्भव नदेखिएको भन्दै राजीनामा दिएकी छन्।

यसअघि मधेस प्रदेशकी संस्थापक अध्यक्ष ममता शर्माले नेतृत्वले मधेसको भावना नबुझेको, उम्मेदवार चयनमा आर्थिक अनियमितता भएको र इमानदार कार्यकर्तालाई उपेक्षा गरिएको आरोप लगाउँदै राजीनामा दिएकी थिइन्। उनी नेपाली कांग्रेसमा प्रवेश गरिसकेकी छन्। बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै टिकट वितरणमा आर्थिक प्रभाव रहेको आरोप लगाएका छन्। नेता प्रणय शमशेर राणाले ‘प्राइमरी’ प्रणालीलाई आर्थिक बार्गेनिङको थलो बनाइएको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन्। राणा २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार थिए।

संस्थापक सदस्य खेमकुमारी भुर्तेल ‘उर्मिला’, रुपन्देहीका नेता श्री कुँवर र हेटौंडाका नेता नवराज पहाडीले पनि आन्तरिक लोकतन्त्र कमजोर भएको, निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित भएको र गुटबन्दी बढेको आरोप लगाउँदै पार्टी छोडेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *