`

३८ औं वैवाहिक वर्षगाँठमा ओलीले सार्वजनिक गरे राधिकाको ‘मेरा अनुभूति’

Nepal One HD १० फागुन २०८२ १६:०३
निर्वाचन

दमक। राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’ आज दमकमा सार्वजनिक गरिएको छ । दमकस्थित गोरखा डिपार्टमेन्टल स्टोरमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको समुपस्थितिमा किताब सार्वजनिक गरिएको हो ।

किताबमा आफ्नो जीवन अनुभूतिका घटनाहरू समावेश रहेको शाक्यले बताइन्। ‘भूमिगतकालिन समयमा निकै गाह्रो परिस्थितिमा मैले उहाँसँग विवाह गरेको थिएँ,’ उनले भनिन्, ‘ त्यसपछि पनि २०५१ सालमा, २०६२/६३ मा र त्यसयता २०७६ सालमा हाम्रो जीवनमा निकै कठिन समय आएको थियो । ती लगायतका अन्य थुप्रै घटनाहरू यो किताबमा समेटिएका छन्।’

साथै शाक्यले यो किताब पढिसकेर मात्रै आफूलाई मूल्यांकन गरिदिन आग्रह गरिन्। ‘अहिले खाली हल्ला चलाइन्छ, विशेष गरी भदौ २३ र २४ यता हामीलाई निकै गाली गरिँदै आइएको छ,’ शाक्यले भनिन्, ‘ यो किताबमा थुप्रै कुराहरू छन्। किताब पढिसकेर मात्रै तपाईँहरुले हाम्रो मूल्याङ्कन गरिदिनुहोला भन्ने आग्रह छ।’

किताब सार्वजनिक कार्यक्रममा राधिका ४४ सालतिरको समयलाई सम्झेर भावुक बनिन् । उनले विगतका अनुभवहरू सम्झिँदै आफूले निकै दुःख पाएको पनि बताइन्।

यो शाक्यको दोस्रो किताब हो । यो भन्दा पहिले उनको करुणा नामक किताब सार्वजनिक भएको थियो । पाणिनी बुक्स हाउसले प्रकाशन गरेको यो किताबमा जीवन अनुभूतिका पिडा र प्रेरणा समेटिएको छ । ओली र शाक्यको ३८ औं वैवाहिक वर्षगाँठको अवसरमा यो किताब सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *