नवलपुरमा निर्वाचन तयारी पूरा, पाँच हजार बढी जनशक्ति परिचालन हुने
नवलपरासी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् ।
नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारीसहितका गरी एक हजार ८६९ कर्मचारी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुनेछन् ।
निर्वाचन सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
मतदानमा खटिने मतदान अधिकृतका लागि फागुन १४ र १५ गते प्रशिक्षण दिएर मतदान केन्द्रमा खटाउने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीको भनाइ छ । निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसीलगायतका सम्पूर्ण ५१ प्रकारका निर्वाचन सामग्री जिल्लामा आइसकेको उहाँले बताउनुभयो ।
निर्वाचनका लागि जिल्लामा करिब छ लाख मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ एक लाख ४६ हजार तथा समानुपातिकतर्फ एक लाख ५४ हजार मतपत्र आइपुगेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पनि एक लाख ४१ हजार तथा समानुपातिकतर्फ एक लाख ४१ हजार मतपत्र आइपुगेको उहाँले बताउनुभयो ।
यहाँको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३७ हजार ८१ मतदाता एवं क्षेत्र नं २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित कुल ३११ मतदानस्थल कायम गरिएका छन् ।
कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन अधिकारी शर्माले यहाँ मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्ने बताउनुभयो ।
