मध्यपूर्वमा सैन्य तनाव : नेपालीहरुलाई सुरक्षा मापदण्ड अपनाउन सरकारकाे आग्रह
काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावप्रति गहिरो चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार त्यहाँ रहेका सबै नेपालीलाई घरभित्र सुरक्षित रहन र परिवारसँग नियमित सम्पर्कमा रहन सुझाव दिइएको छ।
उनले आइतबार आयाेजित पत्रकार सम्मेलन भने, ‘सबै नेपालीलाई घरभित्र रहन, सुरक्षित रहन भनेका छौँ। घरपरिवारसँग एकापसमा सम्पर्क रहन, दूतावाससँग पनि सम्पर्कमा रहन भनेका छौँ।’
प्रवक्ता क्षेत्रीले नेपाली नागरिकलाई स्थानीय सुरक्षा मापदण्डको जानकारी लिन र त्यसलाई पूर्णरूपमा अवलम्बन गर्न पनि निर्देशन दिएको बताए। ‘पश्चिमा देशहरूका जति पनि सुरक्षा मापदण्डहरू छन्, त्यसको बारेमा जानकारी लिने र त्यसलाई पूर्णरूपमा अवलम्बन गर्न भनेका छौँ,’ उनले भने।
कुनै समस्या वा आपतकालीन परिस्थिति उत्पन्न भएमा सम्बन्धित निकाय, नेपाली राजदूतावास वा मन्त्रालयले उपलब्ध गराएका सम्पर्क नम्बरमा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गरिएको छ।
मन्त्रालयले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै सबै पक्षलाई संयमता अपनाउन, तनाव बढ्न नदिन र सर्वसाधारणको सुरक्षाको सुनिश्चित गर्न आग्रह गरेको छ।
साथै, नेपाल सरकारले विवाद समाधानका लागि कूटनीति र वार्ताको माध्यम अपनाउन आह्वान गर्दै, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको उनले बताए ।
शनिबार बिहानैदेखि अमेरिका-इजरायलले इरानमा आक्रमण गरी इरानी सर्वाेच्च नेता आयताेल्लाह अलि खामेनी, त्यहाँका सेनापति, रक्षामन्त्रीलगायत थुप्रै उच्च राजनीतिक र सैन्य अधिकारीहरुकाे हत्या गरेपछि मध्यपूर्वमा सैन्य तनाव चुलिएकाे छ ।
इरानले मध्यपूर्वका अमेरिकी साझेदार देशहरु कतार, दुबई, बहराइन, जाेर्डनलगायतमा रहेकाे अमेरिकी सैन्य शिविरहरुमा आक्रमण गरेकाे छ ।
इजरायलकाे विभिन्न सैन्य अखडाहरुमा पनि आक्रमण गरेकाे छ । यससँगै मध्यपूर्वमा देशहरुमा भएका नेपालीहरुकाे सुरक्षा चिन्ता नेपालमा बढेकाे छ ।
उनीहरुलाई सम्बन्धित देशहरुले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गर्न, घरभित्र रहन र थप सतर्कता अपनाउन त्यहाँस्थित नेपाली राजदूतावासहरुले आह्वान गरिसकेकाे छ ।
