`

कहाँ कहाँ हुँदै छ काठमाडौंका १० क्षेत्रको मतगणना?

Nepal One HD २० फागुन २०८२ १४:३४
निर्वाचन

काठमाडौं । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतगणना कहाँ हुँदैछ भन्ने कुरा प्रत्येक क्षेत्रका मुख्य निर्वाचन अधिकृतहरूले स्पष्ट पारिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको मतदान सकिनासाथ मतपेटिका आफ्नो निर्धारित स्थानमा पुग्ने र गणना तुरुन्त शुरू हुने तयारी भइसकेको छ ।

काठमाडौं–१ मा मतगणना नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा हुनेछ, जहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय नै छ । यस क्षेत्रका ४८ हजार ४८९ मतदाताको मत दुई दिनभित्र गणना सकिने लक्ष्य छ ।

काठमाडौं–२ को गणना कागेश्वरी मनोहरा नगरपालिकाको सभा हलमा हुनेछ । ८८ हजार ७०८ मतदाता रहेको यो क्षेत्रमा पनि लगभग दुई दिनभित्र नतिजा आउने अपेक्षा गरिएको छ ।

काठमाडौं–३ मा कार्यालय गोकर्णेश्वर नगरपालिका–४ को वडा कार्यालयमा रहे पनि ठाउँ अपर्याप्त हुने भएकाले मतगणना चामुण्डा स्कुलमा हुनेछ । यहाँ ६४ हजार ४७९ मतदाता छन् ।

काठमाडौं–४ को गणना बुढानीलकण्ठ नगरपालिका–२ मा रहेको ज्येष्ठ नागरिक समाज भवन, चपलीमा हुनेछ । ७६ हजार १४१ मतदाता रहेको यो क्षेत्रमा महिला मतदाता बढी छन् ।

काठमाडौं–५ को मतगणना टोखास्थित श्री समाज भवनमा हुनेछ । ७८ हजार ११४ मतदाता रहेको यो क्षेत्रमा सबै तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतले जनाएकी छन् ।

काठमाडौं–६ को गणना धर्मस्थली, तारकेश्वर नगरपालिकाको भवनमा हुनेछ । मंगलबार मात्र यो निर्णय भएको र सोहीअनुसार स्थल तयारी शुरू भएको छ । यो क्षेत्रमा ६७ हजार ७५९ मतदाता छन् ।

काठमाडौं–७ को मतगणना काठमाडौं महानगरपालिका–१६ मा रहेको बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र, खुसिबु बालाजुमा हुनेछ । यस क्षेत्रले २१ फागुन बेलुका १० बजेसम्म मतपेटिका गणनास्थल ल्याइसक्ने र सोही रातबाट गणना शुरू गर्ने लक्ष्य राखेको छ ।

काठमाडौं–८ को गणना नागार्जुन नगरपालिका भवन छेउमै रहेको जनउद्धार माध्यमिक विद्यालयमा हुनेछ । ५७ हजार ८११ मतदाता रहेको यस क्षेत्रमा २४ घण्टाभित्रै नतिजा दिने लक्ष्य राखिएको छ ।

काठमाडौं–९ को गणना चन्द्रागिरि नगरपालिकाको नगरपालिका भवन, बलम्बुमा हुनेछ । यहाँ ७८ हजार ४९५ मतदाता रहेका छन् ।

काठमाडौं–१० को हकमा मतगणना त्रिवि स्मृति भवनमा हुनेछ, जहाँ निर्वाचन आयोगले निर्देशन गरेबमोजिम तयारी सकिइसकेको छ । ८३ हजार ३०१ मतदाता रहेको यो काठमाडौंको सबैभन्दा ठूलो मतदाता संख्या भएको क्षेत्र हो ।

सबै क्षेत्रमा सीसीटीभी, पर्याप्त उज्यालो र इन्टरनेटको व्यवस्था गर्ने साथै अपाङ्गता भएका र ज्येष्ठ नागरिक मतदातालाई लाइनमा नबस्ने गरी मतदान गराउने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *