अनेरास्ववियु पूर्वअध्यक्ष बडालको आरोप : ‘नेविसंघको कार्यगत स्वायत्तताको बहसले विद्यार्थी आन्दोलनको चरित्रमाथि प्रश्न उठायो’
काठमाडौं। अनेरास्ववियुका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य समिक बडालले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हालै उठाएको ‘कार्यगत स्वायत्तता’ सम्बन्धी बहसले देशको विद्यार्थी आन्दोलनको मूल चरित्रबारे पुनः प्रश्न खडा गरेको बताएका छन् । सार्वजनिक रूपमा स्वायत्तताको माग गरिए पनि संगठनभित्र पुरानै संरचना र नेतृत्व निरन्तरताको अभ्यास कायम रहेको भन्दै आलोचना बढ्दै गएको उनको भनाई छ ।
उनकाअनुसार मिडियामा देखिने निर्णयभन्दा फरक वास्तविकता क्याम्पसस्तरमा अनुभव गर्न सकिन्छ र विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता र अनुभूति नै संगठनको वास्तविक अवस्थाको मापन हुने बताइन्छ। ‘स्वायत्तताको भाषण र व्यवहारबीचको विरोधाभासले आन्दोलनलाई सुदृढ पार्नुको सट्टा कमजोर बनाउने जोखिम बढाएको छ,’ बडालले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
नेविसंघ र अनेरास्ववियुलाई लामो समयदेखि देशका प्रमुख राजनीतिक दलहरूको नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ का रूपमा हेरिएपनि पछिल्लो समय २५-३० वर्ष उमेर समूहका सक्षम, इमानदार र विचारशील युवाहरू नेतृत्वमा उदाउन नसकेको र यसले केवल विद्यार्थी राजनीति मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा असर पार्ने उनको बुझाई छ । ‘हामी नेतृत्व उत्पादन गर्ने कारखाना हौं, पद बाँड्ने थलो होइनौं भन्ने सोच विकास गर्न जरुरी छ,’ उनले भनेका छन्।
हिजो मात्रै नेविसंघले आफू कांग्रेसको भ्रातृ संगठनका रुपमा नरही स्वायत्त संगठनका रुपमा रहने निर्णय गरेको थियो।
