इरानमाथिको दबाब क्रमिक रुपमा घट्दै जानेछ : ट्रम्प
वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ साेसलमा भने, ‘हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।’
ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ । तर ट्रम्पले शान्ति समझौता नचाहे पनि संवादको विकल्प भने खुला राखेका छन् ।
हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशहरूले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए, र आवश्यक परे यसमा अमेरिकाले पनि सहयोग गर्ने उनले बताए । यसअघि ट्रम्पले नाटोका सहयोगीहरूलाई पनि ‘कायर’ भनेका थिए र युरोपले यस युद्धमा प्रत्यक्ष भूमिका नलिनेतर्फ संकेत गरेको छ ।
युरोपेली विदेश मामिला अधिकारी काजा कलासले भनिन् “यो युरोपको युद्ध होइन, तर युरोपका हित सिधै जोखिममा छन् ।” गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ढुवानीमा अवरोध, तेल मूल्य वृद्धि र आर्थिक प्रभाव देखिएको थियो ।
