निषेधाज्ञा जारी भएको कपिलवस्तुको पछिल्लो अवस्था के छ ?
कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज-बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। शनिबार मन्दिरमा भजन गाइरहेकै समयमा तोडफोडको घटना भएको र त्यसलाई लिएर हिन्दू तथा मुस्लिम समुदायका युवाबीच तनाव उत्पन्न भएपछि प्रशासनले स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको हो।
निषेधाज्ञाबारे कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अहिले स्थिति अन्डर कन्ट्रोल भइसकेको बताए। नेपालवन एचडीसँग भएको कुराकानीमा उनले अहिले हिन्दु समुदायका युवाहरुले एकपक्षीय प्रदर्शन गरिरहेको पनि स्पष्ट पारे।
‘सुरक्षाको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको भएपनि प्रदर्शनरत पक्षहरु अर्को ठाउँबाट नाराबाजी गरिराख्नु भएको छ- विशेषत: मुस्लिम समुदायको आज इद भएकाले हिन्दु समुदायका युवाहरु मात्रै अहिले प्रदर्शनमा हुनुहुन्छ,’ गौतमले भने, ‘स्थिति सामान्य भइसकेको नभएपनि सुरक्षा स्थिति भने मजबुत बनाएका छौँ। निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ अहिले भन्न सकिने अवस्था छैन।’
प्रशासनले जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा भीडभाड पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।
निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कानुन बमोजिम कारबाही हुने चेतावनी पनि सूचनामा उल्लेख छ। निर्धारित सीमारेखाअनुसार पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चौक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्मको क्षेत्र निषेधाज्ञा अन्तर्गत परेको प्रशासनले जनाएको छ।

