`

नेपाली कांग्रेसबाट नेविसंघ अलग राख्ने हो भने हाम्रो इतिहास नै अधुरो हुन्छ : महामन्त्री घिमिरे (भिडियो)

Nepal One HD ८ चैत २०८२ १४:४०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस का महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाको ‘नेविसंघ स्वायत्त रहने’ अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै संगठनको ऐतिहासिक र वैचारिक सम्बन्ध पार्टीसँग अविच्छिन्‍न रहेको बताएका छन् ।

नेविसंघ अध्यक्ष शेर्पाले हालै संगठनलाई स्वतन्त्र र स्वायत्त ढंगले सञ्‍चालन गर्ने अभिव्यक्ति दिएपछि त्यसबारे टिप्पणी गर्दै महामन्त्री घिमिरेले नेविसंघलाई कांग्रेसबाट अलग्गै सोच्‍न नसकिने स्पष्ट पारे।

उनले आइतबार भने, ‘नेपाली कांग्रेसलाई नेविसंघबाट अलग राख्ने हो भने हाम्रो इतिहास नै अधुरो हुन्छ, अपुराे हुन्छ ।’

घिमिरेका अनुसार नेविसंघ केवल भातृ संगठन मात्र नभई नेपाली कांग्रेसको आन्दोलन, त्याग र संघर्षसँग प्रत्यक्ष जोडिएको संस्था हो।

उनले विगतका प्रजातान्त्रिक आन्दोलनहरूमा नेविसंघले खेलेको भूमिकालाई स्मरण गर्दै संगठनको योगदानलाई कम आँक्न नहुने बताए।

‘कतिपय सन्दर्भमा त पार्टीभन्दा बढी नेविसंघले कुर्बानी दिएको छ,’ उनले भने, ‘आन्दोलनको हरेक मोर्चामा यसको नेतृत्वदायी भूमिका रहँदै आएको छ।’

महामन्त्री घिमिरेले पछिल्ला वर्षहरूमा कांग्रेसले नेविसंघका गतिविधिलाई अझ गम्भीरतापूर्वक हेरिरहेको पनि उल्लेख गरे।

उनका अनुसार संगठनलाई सुदृढ बनाउँदै पार्टीसँगको समन्वय अझ प्रभावकारी बनाउन आवश्यक रहेको छ।

‘हामीले केही वर्षदेखि नेविसंघलाई गम्भीर रूपमा हेरिरहेका छौँ, यसपटकको आम निर्वाचनमा पनि यसको भूमिका महत्वपूर्ण रह्यो,’ उनले भने।

नेविसंघ अध्यक्ष शेर्पाको ‘स्वायत्तता’ सम्बन्धी धारणा संगठनभित्र सुधार र स्वतन्त्र कार्यशैलीको संकेतका रूपमा लिइए पनि कांग्रेस नेतृत्वले त्यसलाई पार्टीसँगको सम्बन्ध तोड्ने रूपमा व्याख्या नगर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *