`

रास्वपाबाट सभामुखको चर्चामा छन् यी ६ सांसद, बाजी कसले मार्लान् ?

रामचन्द्र जाेशी १० चैत २०८२ १६:१०
बिशेष

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभामुख चयनको चासो बढेको छ।

पार्टीभित्र हाल पाँच जना सम्भावित उम्मेदवारको नाम चर्चामा छन्। नयाँ सभामुखका लागि मुख्य चुनौती दलीय आबद्धताबाट अलग रहनुपर्ने संवैधानिक आवश्यकतालाई पूरा गर्ने योग्य व्यक्ति खोज्‍नु हो।

सुरुमा उपसभापति डिपी अर्याल (डोलप्रसाद) को नाम सभामुखमा चर्चामा थियो। उनी सन्तुलित नेतृत्वको छवि राख्‍ने र पार्टी नेतृत्वको विश्‍वासपात्र मानिने नेताहरूको सूचीमा थिए।

अर्याल दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका छन् र अहिले काठमाडौं-९ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

तर, दलीय गतिविधिबाट अलग रहनुपर्ने भएकाले पार्टीकाे निर्णयमा उनी अनुपस्थित हुन सक्ने संभावना देखिएपछि अन्य नाममा छलफल अघि बढेको नेताहरूले बताएका छन्।

सदस्य दीपक बोहरा पनि सम्भावित सभामुखका रूपमा चर्चामा छन्। उनी पार्टी सचिवालय सदस्य भए पनि हाल पार्टीमा परिभाषित भूमिका छैन।

केही समयअघि सहकोषाध्यक्ष रहेकाले नेतृत्वनजिक कार्यसम्पादन गरेको र विश्‍वास अर्जन गरेको कारण उनको नाम सूचीमा आएको हो। बोहरा कञ्‍चनपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

युवा अनुहारको खोजीमा सहप्रवक्ता प्रतिभा रावलको चर्चा बलियो भएको छ। उनी समानुपातिक सांसद र पार्टी सभापति रवि लामिछानेको सचिवालय सदस्य पनि हुन्।

पत्रकारिता पृष्ठभूमि भएकी रावल पार्टीको शुरुवातदेखि आबद्ध रहेकी हुन् र पार्टीभित्र विश्‍वासपात्र मानिन्छन्। भनिन्छ, सभामुखको भूमिकाका लागि उनको सम्भावना सबैभन्दा बलियो बनेको छ।

त्यस्तै, सोबिता गौतम र पूर्वउपसभामुख इन्दिरा रानामगर पनि सम्भावित उम्मेदवारमा छन्। तर उनीहरू दुवै मन्त्री पदमा जाने संभावना भएकोले सभामुखमा पूर्ण रूपले फोकस गर्न सक्ने कुरा निश्चित छैन।

गौतमको चर्चा कानुनमन्त्रीको रूपमा भइरहेको छ भने रानामगर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने सूचीमा छन्।

पार्टी वरिष्ठ नेता जगदीश खरेलको नाम पनि सम्भावित सभामुखमा छलफलमा आएको छ। उनको चर्चा वरिष्ठ नेता बालेन शाहको समूहबाट उठेको हो।

प्रतिनिधिसभाको पहिलो बैठक वैशाख ४ भित्र बस्‍नुपर्ने संविधान अनुसार नयाँ सभामुख र उपसभामुख वैशाख १९ भित्र चयन हुने अपेक्षा गरिएको छ।

रास्वपा केन्द्रीय समितिको बैठक चैत १२ मा बस्नेछ, जसले दलको नेता चयन प्रक्रिया अघि बढाउनेछ। यस क्रममा सभामुखको नाममा सहमति जुटाउन नेताहरू सक्रिय छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *