काे हुन् ७८ वर्षे काङ्ग्रेसका ज्येष्ठ सांसद अर्जुननरसिंह केसी ?
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व, नीति र पुस्तान्तरणको बहस चुलिँदा बारम्बार चर्चामा आउने नाम हो- अर्जुननरसिंह केसी ।
पञ्चायतकालदेखि संघीय लोकतन्त्रसम्मको लामो राजनीतिक यात्रा तय गरेका केसी पार्टीभित्र संस्थागत अभ्यासका पक्षधर नेताका रूपमा चिनिन्छन्।
विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनले राष्ट्रिय पञ्चायत हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। ०३८ सालमा निर्वाचन जितेर संसद् छिरेका केसी त्यतिबेला सूर्यबहादुर थापा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए। त्यसपछि पुनः कांग्रेसमा फर्किएका उनी ०४८ सालपछि भएका आठमध्ये सात निर्वाचनमा प्रतिस्पर्धा गर्दै पाँचपटक विजयी भएका छन्।
यसपटक भने उनी समानुपातिक प्रणालीमार्फत संसद् प्रवेश गरेका छन्। उनले बुधबार (आज) राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरे ।
जेन-जी विद्राेहपछिको नयाँ संसदमा केसी सबैभन्दा ज्येष्ठ सदस्यका रूपमा रहनेछन्। उनी ७८ वर्षका भए । उनी पार्टी सभापति गगन थापाका ससुरा हुन् ।
भनिन्छ, उनी यसपटक काङ्ग्रेस संसदीय दलको नेता हुन सक्छन् । उनले आफ्नो अनुभवका आधारमा दाबी स्वाभाविक भएको सार्वजनिक रूपमा बताइसकेका छन्।
तर, यही विषयले नयाँ विवाद पनि निम्त्याएको छ। केसी सभापति थापाका ससुरा भएकैआधारमा समानुपातिक सूचीमा परेकाे भन्दै आलाेचना भएकाे थियाे । यसप्रति सभापति थापाले मुख खाेलेका छैनन् ।
कांग्रेसभित्र रूपान्तरणको एजेन्डा अघि सारेका थापाका लागि संसदीय दलको नेतामाकेसीलाई अगाडि सार्ने निर्णय सहज देखिँदैन। ७८ वर्षीय केसीलाई अघि सार्दा ८२ वर्षीय शेरबहादुर देउवालाई विस्थापित गरिएको औचित्यमाथि नै प्रश्न उठ्ने तर्क पार्टीभित्रैबाट उठिरहेको छ।
राजनीतिकशास्त्रका प्राध्यापक भइसकेका केसीले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालिसकेका छन्। संसद् र विभिन्न समितिमा सक्रिय रहँदै आएका उनले सधैं ‘नीतिमा आधारित पार्टी’ को वकालत गरेका छन्।
यद्यपि, व्यवहारमा भने उनीमाथि प्रश्न उठ्दै आएका छन्। गुटबन्दी अन्त्य, संस्थागत अभ्यास र युवालाई अवसर दिनुपर्ने धारणा राख्दै आएका केसी स्वयं शक्ति समीकरणको हिस्सा बन्दै आएको आरोप लाग्ने गरेको छ।
उनी २००४ सालमा नुवाकाेटमा जन्मिएका नेता हुन् ।
