`

टिओबी समूहको प्रवेशले भीड थप उत्तेजित बनेको कार्की आयोगको ठहर

Nepal One HD १२ चैत २०८२ १२:०८
समाचार

काठमाडौँ।  भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा टिबेटियन ओरिजिनल ब्लड (टिओबी) समूहको प्रवेशपछि आन्दोलनकारी भीड आणखी उत्तेजित भएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगले भदौ २३ र २४ मा भएका मानवीय क्षति र भौतिक नोक्सानीबारे तयार गरेको प्रतिवेदनमा यो तथ्य समावेश गरिएको हो।

आयोगका अनुसार भदौ २३ गते दिउँसो करिब १२ बजे मोटरसाइकलमा सवार टिओबी समूह बानेश्वर क्षेत्रमा प्रदर्शनरत भीडतर्फ प्रवेश गरेपछि वातावरण चर्किएको थियो। उक्त समूह चाबहिल-ओम अस्पताल-धोबिखोला करिडोर हुँदै गौशाला लगायतका क्षेत्रबाट करिब एक सय मोटरसाइकलसहित बानेश्वरतर्फ अघि बढेको प्रतिवेदनमा उल्लेख छ। बिजुलीबजारतर्फ पुगेपछि समूहले मोटरसाइकल ‘पड्काउँदै’ हिँडेकै कारण भीड थप उक्सिएको आयोगको निष्कर्ष छ।

प्रतिवेदनमा भनिएको छ, “फलस्वरूप भीड झन् आक्रामक बन्यो र प्रहरीलाई धक्का-मुक्का गर्दै पानीको बोतल, ढुंगा, रड, इँटा, गुलेली आदि प्रयोग गरेर प्रहार गर्दै पश्चिम गेटतर्फबाट संघीय संसद भवन परिसरभित्र छिर्ने प्रयास गरियो।’

प्रहरी पक्षले समेत स्थिति नियन्त्रणबाहिर गएपछि माइकिङमार्फत सम्झाइसकेपछि मात्र बल प्रयोग गरिएको बयान दिएका छन्, जसमा डिएसपी सुन्दर तिवारीसहित अन्य प्रहरीको भनाइ समावेश गरिएको छ।

यसअघि प्रहरीले टिओबी समूहका तेन्जीन दावा लामालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तर आयोगले टिओबीको कुनै राजनीतिक संलग्नता नदेखिएको निष्कर्षसमेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *