`

शपथ ग्रहणपछि सर्वोच्चमा बालेन, किन पुगे ?

Nepal One HD १२ चैत २०८२ १६:५६
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अवहेलना मुद्दामा सर्वोच्च अदालतमा उपस्थित भएर तारेख बुझेका छन्। सिंहदरबारमा सांसदको शपथ लिएलगत्तै उही पोसाकमै सर्वोच्च पुगेका बालेनले तारेख बुझेको कुरा सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पुष्टि गरेका छन्।

तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोकिने भन्दै काठमाडौँ महानगरविरुद्ध अन्तरिम आदेश दिएको थियो। उक्त आदेशप्रति आक्रोशित भएका बालेनले सामाजिक सञ्जालमार्फत अदालत र सरकारलाई छिमेकी भारतसँग जोडेर आपत्तिजनक टिप्पणी गरेको आरोप लागेपछि अधिवक्ता वर्षाकुमारी झाले उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएकी थिइन्।

यस मुद्दामा बालेनले तारिख वारेस राख्न माग गरे पनि सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले त्यो अनुरोध अस्वीकार गरेको थियो। अदालतले तारिख परेको दिन स्वयम् उपस्थित हुन निर्देशन दिएपछि बालेन सर्वोच्च अदालत पुगेका हुन्।

तीन वर्षअघि बालेनले सामाजिक सञ्जालमा लेखेका वक्तव्यलाई मुद्दाको आधार बनाइएको छ। उनले त्यतिबेला लेखेका थिए-‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन। फिल्म लेखकले ‘नेपाल भारतको अधीनमा थियो’ भनीसकेपछि उनीहरूको नियत बुझिन्छ। नेपाल सरकारले यसलाई स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *