`

मन र तन छुट्टिएको कांग्रेसलाई जोड्ने पुल बन्न म संसदीय दलको नेता हुनुपर्छ : आङ्देम्बे (भिडियो)

जङ्‍ग तामाङ १२ चैत २०८२ १९:२१
अन्तर्वार्ता/बिचार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले दाबी प्रस्तुत गरेका छन्। उनी संसदीय राजनीतिको अनुभवी नेता हुन् ।

२०७० सालको संविधानसभा सदस्य रहिसकेका आङ्देम्बेले मिनी संसद भनिने संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिका रूपमा नेतृत्व गरिसकेका छन् ।

साढे चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय उनलाई संसदीय दलको नेतामा बलिया दाबेदारका रूपमा हेरिएकाे छ ।

संसदीय अभ्यास र प्रक्रियामा दख्खल राख्ने आङ्देम्बेलाई पार्टी सभापति गगन थापाले पनि नेतृत्वमा अघि सार्न सक्ने चर्चा पनि गाइँगुइँ छ। उनै नेता आङ्देम्बेसँग नेपालवान एचडीका लागि जङ्‍ग तामाङले गरेकाे संक्षिप्त संवाद गरेका छन्।

०००

संसद्‍मा विधायकको रूपमा तपाईंको भूमिका कस्तो पाउँछौँ ?

सत्ता सञ्‍चालन गर्ने पार्टी र साथीहरूलाई आलोचना र समर्थन काम हेरेर हुन्छ । प्रमुख प्रतिपक्षी दलको सदस्यको हैसियतले यो विषयमा हामी गम्भीरतापूर्वक र संवेदनशील भएर राष्ट्रिय स्वाभिमानको रक्षाको निम्ति हामी लागि रहने छौँ ।

नेपाली कांग्रेस संसदमा प्रमुख विपक्षी दल बनेको छ, विपक्षी नेता बन्‍न संसदीय दलको नेता बन्‍नुपर्छ, दलको नेतामा तपाईंको दाबी छ ?

दाबी त निश्‍चित रुपमा रहन्छ । सँगसँगै के छ भने हामी अहिलेको अवस्थामा प्रतिपक्षी दल संसदभित्र त जिम्मेवार हुनुपर्छ नै । सँगसँगै हामीले पार्टीलाई पनि व्यवस्थित गर्नु छ । मन र तन छुट्टिएको अवस्थामा मन र तन जोड्ने पुलको काम पनि गर्नु परेको छ ।

हिमाल, पहाड, मधेस र तराईमा व्यक्त संवेदनशील अभिव्यक्तिहरू छन्, त्यसलाई सम्मान गर्दै त्यसको प्रतिनिधित्व पनि गर्नु छ । प्रत्येक भूगोलमा उठेर आएको संवेदनशीलताले प्राप्त गरेका परिणामहरूमाथि उभिएर हामीले आत्मसमीक्षा गरेर नयाँ उचाई प्राप्त गर्नका निम्ति अगाडि बढ्नु छ । त्यसले गर्दा यी सबै कुरालाई हेर्दा निश्‍चित रुपमा मेरो आफ्नो उपस्थितिले समग्र पार्टीको निम्ति एउटा पुलको काम गर्छ । त्यसो हुनाले संसदीय दलको नेतामा गम्भीरतापूर्वक नै म आफूलाई अगाडि प्रस्तुत गरिरहेको छु ।

पार्टी सभापति गगन थापालाई म संसदीय दलको नेता बन्छु भनेर कुरा गर्नु भएको छ ?

विशेष महाधिवेशनबाट चुनेर आएको जुन कार्यसमिति छ र बिमतीका स्वरहरू अदालतमा पनि छ । खैर, जे–जे भए ता पनि अदालतले आफ्नो विचार सार्वजनिक नगरी रहेको अवस्थामा अहिलेको सम्पूर्ण कामकारबाही र पार्टीको भविष्यसँग सम्बन्धित हरेक निर्णयहरू अहिलेको सभापति गगन थापालगायतले तय गरेको केन्द्रीय कार्य समितिको बाटोबाट हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ ।

उहाँहरू लगायत पार्टीभित्रको जो–जी जिम्मेवार नेताहरू हुनुहुन्छ, उहाँहरूसँग पनि मेरो व्यक्तिगत रूपमा कुराकानी भइरहेको छ । यसबीचमा मेरो घरभित्र परेको पितृशोक छ । पिताजीको देहान्त भएको छ । केही समय मैले त्यहाँ बिताउनुपर्‍यो । अब आउने समयमा फेरि पार्टी सभापतिजी लगायत कार्यसमितिका साथीहरू, शीर्ष नेताहरूसँग यही संवेदनशीलताका विषयमा पार्टीलाई जोड्नका निम्ति मेरो उपस्थिति पुलका रुपमा रहने विश्वास हो । त्यसो हुनाले उहाँहरूसँग मेरो कुरा राख्‍ने छु र अगाडि बढ्ने छु ।

जेन-जी प्रतिवेदनमा २३ भदौको घटनामा संलग्‍न भनेर राजनीतिक र सुरक्षा अधिकारीलाई दोषी करार गरियो, २४ गतेको विध्वंशबारे मौन छ । यसमा धारणा के हो तपाईकाे ?

यो अत्यन्तै गलत रुपमा आयो भन्‍ने मेरो व्यक्तिगत धारणा हो । यसप्रति सामूहिक/संस्थागत रूपमा हाम्रा विचारहरू निश्‍चित रुपमा आउने नै छन् । हामी यो विषयमा अत्यन्तै गम्भीर छौँ । २३ गतेको घटनाक्रमसँगै २४ गते भएका जुन-जुन आपराधिक क्रियाकलाप छन्, ती आपराधिक क्रियाकलापलाई ढाकछोप गर्ने खालको ढंगबाट आएको प्रतिवेदनबारे जसरी जताततै चर्चा परिचर्चा सुरु भएको छ, त्यस विषयमा हामी गम्भीर छौँ । यस विषयमा पार्टीले संस्थागत रुपमा निर्णय गरेर आफ्ना धारणाहरू सार्वजनिक गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *