बालेन सरकारमा शिखिर खनाल बन्दै परराष्ट्रमन्त्री
काठमाडौं । बालेन सरकारमा शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए । रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका उनी यसपटक परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं–६ मा निर्वाचित भएका हुन्। तनहुँको चुँदीमा जन्मिएका खनालले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी पास गरेका हुन्। उनको विद्यालय शिक्षा गोरखा, चितवन, नवलपुर, सर्लाही, मुस्ताङ लगायतका जिल्लामा भएका थियो।
त्रिचन्द्र कलेजबाट आईएस्सी गरेका खनाललेले स्नातक र स्नातकोत्तर अमेरिकाबाट पूरा गरेका हुन्। अमेरिकास्थित कनेक्टिकट् राज्यस्थित युनिभर्सिटि अफ बिज्रपोर्टबाट उनले पोलिटिकल इकोनोमीमा स्नातक गरेका छन् भने युनिभर्सिटी अफ विन्सकन्सन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
खनालको समूहले सन् २०१२ मा ‘टिच फर नेपाल’को स्थापन गरेको थियो। सह–संस्थापक भएर शिक्षक उत्पादनमा लागि रहेका उनी नेपालका ७ जिल्लामा टिच फर नेपालले शिक्षकलाई पेसागत क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै विभिन्न जिल्लामा स्वयंसेवक शिक्षक खटाउँदै आएको छ।
शिक्षक उत्पादन तथा सिकाइ परिवर्तनको नारा लिएर उनी नेपालका ४०–५० जिल्ला पुगिसकेका छन्।
यसअघि तुल्सीपुर उपमहानगरपालिकाकाको शिक्षा सल्लाहकारमा नियुक्त भएर तीन वर्ष काम गरेका खनालले कतारसहित३०-३५ देशको शिक्षा प्रणालीबारे अध्ययन गरेका छन्।
यो विषय उनले विभिन्न औपचारिक कार्यक्रममा बताउँदै आएका छन्।
कार्गो कम्पनी ‘पिक एण्ड ड्रप’का सञ्चालक समेत रहेका खनाल परराष्ट्र र नीतिविज्ञका रुपमा चिनिन्छन्। रास्वपामा कुटनीतिक भेटघाटको व्यवस्थापन विदेश विभाग प्रमुखका रुपमा खनालले गर्दै आएका थिए। राष्ट्रिय राजनीतिमा खनालले शालिन र सन्तुलित परिचय बनाएका छन्।
खनाल परराष्ट्र नीतिहरूको मुल स्रोत राष्ट्रिय स्वार्थ भएको मत राख्छन्। ‘राष्ट्रिय स्वार्थको संरक्षण नै हाम्रा सम्बन्धको आधार बन्नुपर्छ। हामीले खोजेको नेपाल बनाउनका लागि चाहिने सम्बन्धहरु परराष्ट्र नीतिका आधार हुन् हाम्रा लागि,’ उनी भन्छन्।
त्यस्तै उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । उनी दाेस्राेपटक प्रतिनिधिसभामा आइपुगेका हुन् ।
काङ्ग्रेसले याेजना आयाेगकाे उपाध्यक्ष नदाेहाेर्याएपछि उनी रुष्ट भएका थिए । त्यसपछि उनी दुई वर्ष अगाडि रास्वपा प्रवेश गरेका थिए । यसपटक भने बालेन सरकारमा अर्थमन्त्री बनेका हुन् ।
