`

रविलाई उन्मुक्ति प्रयास हुँदा ओली, देउवा र प्रचण्डमाथि गुपचुप छानबिन !

जङ्‍ग तामाङ १६ चैत २०८२ १२:३५
नेकपा एमाले

काठमाडौं । तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सम्पत्ति शुद्धीकरणमा गुपचुप अनुसन्धान भइरहेको खुलासा भएको छ ।

यसलाई गम्भीर मुद्दा मानिन्छ र मुद्दामा दोषी ठहरिए देउवा, ओली र प्रचण्डको राजनीतिक जीवन समाप्त हुन्छ ।

विगतमा सम्पत्ति शुद्धीकरण मुद्दाले बहुदल पुनस्थापनापछिका चर्चित कांग्रेस नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी र चिरञ्जीवीकुमार वाग्लेको राजनीतिक जीवन सकियो ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दा छ । उनी र श्रीमती निकिताबीच करोड करोड कारोबार भएको देखिएको भन्दै यसअघि प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । अहिले विचाराधीन छ ।

यद्यपि, यसअघि चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्की र उनको कानुनी सल्लाहकार रहेकी महान्यायाधिवक्ता सविता भण्डारीले आरोपपत्र संशोधन गरेर रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन खोजेकी थिइन् ।

रविलाई मुद्दा बढी भएको तर्क उनको थियो, जुन कानुनी थिएन । उन्मुक्ति दिने मनसाय प्रष्ट थियो । भलै, मुद्दा फिर्ता गर्न अक्षम भइन् ।

कारण, जिल्ला अदालतहरूले आरोपपत्र संशोधन गर्न आदेश दिएनन् । पहिले सर्वोच्चमा विचाराधीन मुद्दा टुंगो लाग्नुपर्ने अदालतहरूले तर्क गरे । कार्की सरकारकी महान्यायाधिवक्ता भण्डारी हिस्सिइन् ।

तर, तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको गुपचुप रूपमा छानबिन भइरहेको खुल्यो । जबकि, एकातिर रविलाई उन्मुक्ति दिने प्रपञ्च हुनु र अर्कातिर तीन पूर्वप्रधानमन्त्रीहरूविरुद्ध छानबिन हुनुले सरकारले प्रतिशोध साँधेको आलोचकहरूको तर्कलाई बल पुगेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक तथा सूचना अधिकारी जितेन्द्र अधिकारीले उक्त घटनासँग सम्बन्धित अनुसन्धान पहिलेदेखि नै चलिरहेको संकेत गरे ।

‘त्यो अलि अगाडिदेखि नै छानबिनको सिलसिलामा थियो । कुनै पनि सूचना वा उजुरीका आधारमा विभागले प्रारम्भिक अनुसन्धान अघि बढाउँछ, त्यो सामान्य विषय हो,’ उनले भने ।

नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री दहालले सम्पत्ति छानबिन निष्पक्ष र स्वतन्त्र रूपमा हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘त्यो त हामीले पहिले नै उठाएको विषय हो, सबैको छानबिन हुनुपर्छ ।’

उनले थपे, ‘कहीँ कतै राजनीतिक आग्रह वा पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले अनुसन्धान अघि बढोस् ।’

तीन पूर्वप्रधानमन्त्रीमध्ये ओलीलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उनी पक्राउ परे पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

शनिबार बिहान जेन–जी विद्रोहको पहिलो दिन १९ जना नवयुवाको ज्यान गएको घटनामा हेल्चेक्र्याइँ गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

देउवा भने उपचारका लागि भन्दै सिंगापुरमा गएका छन् । गत भदौ २४ गते जेन–जी विद्रोहीहरूले उनको घर जलाउँदा जलेको अवस्थामा पैसाको बिटोहरू फेला परेको घटनालाई लिएर सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न बालेन सरकारले कदम अघि बढाएको हो ।

देउवाले भने गौरीबहादुर केसी नेतृत्वको जाँचबुझ आयोगलाई पैसाबारे भनेका छन्, ‘त्यो वास्तविक होइन, एआई भिडियो हो ।’

तर, घर जलेपछि सम्पत्ति शुद्धीकरण विभागको टोली गएर अनुसन्धान गरेको थियो । नेकपा संयोजक दाहालले पनि जेन–जी विद्रोहीहरूले आफू बसेको घर जलाएको र ५ लाख रुपैयाँ राखेको बताएका थिए ।

यस्तोमा बालेन सरकारले ओली, देउवा र दाहालको सम्पत्ति छानबिन प्रक्रियालाई तीब्र बनाएको विवरण सार्वजनिक भएको हो ।

सोही क्रममा कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का आइतबार पक्राउ परे । जेन–जी विद्रोहको बेला उनको घरमा विद्रोहीहरूले पैसा उढाएका थिए ।

त्यसबेला पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले खड्कासँगै देउवाको घरमा फेला परेको पैसा र खरानीको नमूना संकलन गरेको थियो । झण्डै सात महिनामा पूर्वमन्त्री खड्का पक्राउ परेका हुन् ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीले खड्काको पक्राउबारे पुष्टि गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

उनले थपे, ‘विभागले सहयोग मागेकाले हामीले आवश्यक प्रक्रिया अघि बढाएका हौँ ।’

स्रोतको दाबीमा शुद्धीकरण विभागले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति, आम्दानीको स्रोत र वित्तीय कारोबारबारे अध्ययन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *